काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको साता दिन मात्र के भएको छ, म्यानचेस्टर युनाइटेड चर्को दबाबमा आइसकेको छ । आइतबार राति युनाइटेड लिभरपुलको हातबाट ३–० ले पराजित भएपछि प्रशिक्षक एरिक टेन ह्याग मात्र होइन्, क्लबका स्टार खेलाडीको पनि चर्को आलोचना सुरु भएको छ ।
गत सिजन बल्लतल्ल वर्खास्तीबाट बचेका टेन ह्यागलाई लिएर फेरि प्रश्न सुरु भएको छ, यी प्रशिक्षक कहिलेसम्म बच्ने छन् ? ओल्ड ट्रायफोर्डमा आफ्नो सबैभन्दा ठूलो र पुरानो सत्रु क्लबसँग हारेपछि तिनै टेन ह्यागले भनेका छन्, ‘म ह्यारी पोटर होइन् ।’
यसको अर्थ के हो भने अहिलेको टिमबाट उत्कृष्ट नतिजा निकाल्ने टेन ह्यागसँग कुनै जादु छैन् । यति भन्दा भन्दै पनि उनी के दाबी गर्छन् भने यो सिजन युनाइटेड केही न केही उपाधि जित्न भने सक्षम छ । गत सिजन पनि युनाइटेडले एफएकप जितेको थियो र यसैका कारण उनको पद जोगिएको थियो ।
जितले जहाँ लिभरपुल तीन खेलबाट नौ अंक बटुल्न सफल भएको छ, त्यहीं युनाइटेड भने तीन खेलबाट तीनै अंकमा मात्र सीमित छ । लिगमा तेस्रो चरणका खेल सकिंदा युनाइटेड रहेको छ, १४ औं स्थानमा । टेन ह्याग भन्छन्, ‘मैले धेरै पल्ट भनिसकें, हामीलाई युनाइटेडको नयाँ टिम नै बनाउन आवश्यक छ ।’