काठमाडौं । लिललाई ३–१ ले हराएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)का प्रशिक्षक लुइस इन्रिक्वे खुसी देखिएका छन् । उनले युरोपेली च्याम्पियन्स लिगअघि टोलीको राम्रो परिक्षण भएको प्रतिक्रिया दिए ।
‘यो खेलमा हाम्रो स्तर निकै राम्रो परिक्षण भएको छ । च्याम्पियन्स लिगको लागि हामी तयार छौँ,’ इन्रिक्वेले भने ।
आइतबार राति पिएसजीको जितमा भिटिन्हा, ब्राड्ली बार्काेला र रान्डल कोलो मुआनीले गोल गरेका थिए । फ्रेन्च लिग च्याम्पियन पिएसजीले लगातार तेस्रो खेल जितेको हो ।
पिएसजीले च्याम्पियन्स लिगको पहिलो खेल सेप्टेम्बर १८ मा स्पेनिस क्लब जिरोनासँग खेल्दैछ । जिरोना ला लिगामा चमत्कार गर्दै पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको हो ।
यता, पिएसजी भने पहिलो पटक च्याम्पियन्स लिग जित्ने योजनामा छ । कतारी मालिक आएपछि नै च्याम्पियन्स लिग जित्ने योजना बनाएपनि क्लब सफल भएको छैन ।
अर्जेन्टिनी कप्तान लियोनल मेसी, ब्राजेलियन स्टार नेयमार र फ्रान्सका कप्तान केलियन एम्बाप्पे जस्ता खेलाडी टोलीमा समावेश गर्दा पनि टोली अभागी भनेको थियो ।
इन्रिक्वेको प्रशिक्षणमा टोली यसपटक पनि उपाधि दाबेदार हो ।