काठमाडौं । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले ला लिगामा पहिलो गोल गरेका छन् । आइतबार राति रियाल मड्रिडले रियाल बेटिसलाई २–० ले हराउँदा दुबै गोल एम्बाप्पेको नाममा रह्यो ।
एम्बाप्पेले दुबै गोल दोस्रो हाफमा गरेका हुन् । दोस्रो जितसँगै रियालले ४ खेलबाट आठ अंकसहित दोस्रो स्थानमा उक्लियो । समान चार खेलबाट बार्सिलोना चार खेल जित्दै शीर्षस्थानमा छ ।
यसै सिजन रियाल मड्रिड आएका एम्बप्पेले पहिलो गोल ६७औं मिनेटमा गरे । फेडेरिको भाल्भर्डेले मिलाएको पासमा उनले गोल गरेका हुन् ।
दोस्रो गोल खेलको ७५औं मिनेटमा भयो । यसपटक पेनाल्टीमा फ्रान्सका कप्तान सफल भएका हुन् ।
‘यसअघिका तीन खेलमा म गोलविहिन भए । तर, चौथो खेलमा गोल भएको छ,’ एम्बाप्पेले गोल गरेपछि भने, ‘मबाट समर्थकले धेरै आशा गरेका छन् । त्यसैमा केन्द्रित छु ।’
एम्बाप्पे फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट रियाल मड्रिडमा अनुबन्ध भएका हुन् ।
पछिल्लो पटक लास पाल्मासविरुद्ध १–१ को बराबरी खेलेपछि रियाल दबाबमा आएको थियो । घाइते भएका मिडफिल्डर जुड वेलिंघम यो खेलमा पनि उपलब्ध भएनन् ।