काठमाडौं। राफिन्हाको ह्याट्रिककप्रेरित घरेलु टोली बार्सिलोनाले स्पेनिस ल ला लिगामा रियल भायाडोलिडविरुद्ध ७-० को फराकिलो जित निकालेको छ।
लुइस कम्पनिस ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की, जुल्स कोन्डेले, ड्यानी ओल्मो र फेरान टोरेसले समान एक गोल थपे ।
लगातार चौथो जितसँगै बार्सिलोना चार खेलमा १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पराजित भायाडोलिड समान खेलबाट समान खेलबाट चार अंकका साथ १४औं स्थानमा छ ।
खेलको २०औं मिनेटमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले पाउ क्युबार्सीको पासलाई पोस्टको दिशा दिए ।
चार मिनेटपछि नै लमिन यमलको पासमा गोल गर्दै लेवान्डोवस्कीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा कोन्डेले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
लेवान्डोवस्कीको पासमा राहिन्हाले ६४औं मिनेटमा गोल गर्दा बार्सिलोना ४-० ले अगाडि बढ्यो । आठ मिनेटपछि राफिन्हाले ह्याट्रिक पूरा गरे । यसपटक यमलले बल उपलब्ध गराएका थिए ।
निर्धारित समय आठ मिनेट बाँकी रहँदा टोरेसको पासमा ओल्मोले बार्सिलोनाका लागि छैटौं गोल गरे । त्यसको तीन मिनेटपछि नै राफिन्हाको पासलाई टोरेसले पोस्टको दिशा दिँदै टोलीलाई ७-० को फराकिलो जित दिलाए।
शनिबारै सम्पन्न अन्य खेलमा एटलेटिक मड्रिडले एथलेटिक्स क्लब बिल्बाओ तथा मायोर्काले लेग्नेसलाई समान १-० तथा स्पान्योलले रायो भायेकानोलाई २-१ ले पराजित गरे । यसैगरी भ्यालेन्सिया भियारियालसँग १-१ को बराबरीमा रोकियो ।