सहिद स्मारक लिग

शीर्ष डिभिजनको प्रतिस्पर्धा अर्को साताबाट, सहभागी १४ टोलीको प्रोफाइल

मछिन्द्र फुटबल क्लब

स्थापना : २०३३ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०६२ साल

उपाधि : एक (२०७६-७७)

प्रशिक्षक : प्रवेश कटुवाल

कप्तान : सुजल श्रेष्ठ

गत वर्ष : च्याम्पियन

टिम : विमल घर्तीमगर, मनीष डाँगी, सुजल श्रेष्ठ, रजिन धिमाल, विशाल राई, सुनील बल, रेजिन सुब्बा, अभिषेक रिजाल, देवेन्द्र तामाङ, विजय धिमाल, छिरिङ गुरुङ, दिलेन लोक्तान, नुर्लान नोभ्रूजोभ, आन्द्रेनिया ।

साबिक विजेता मछिन्द्र फुटबल क्लब यसपालि पनि उपाधिको सबैभन्दा बलियो दाबेदार हो ।

उपाधि रक्षा अभियानमा भने उपाधि जोगाउने लक्ष्यका साथ मैदान उत्रने छ । राष्ट्रिय टोलीका युवा खेलाडीहरूको बहुल्य भएको मछिन्द्र पुन: एक पटक राम्रो खेल प्रदर्शन गर्दै लिग उपाधि दोस्रो पटक उठाउने दाउमा छ ।  मछिन्द्रका लागि मनीष डाँगी, रजिन धिमाल, विमल घर्तीमगर, विशाल राई अनि अभिषेक रिजालले लिगमा उच्च प्रदर्शन गर्नेमा टिम ढुक्क छ ।

त्रिभुवन आर्मी फुटबल क्लब

स्थापना : २०४६ पुस १५ 

एन्फामा आबद्ध : आधिकारिक रूपमा २०६१ साल

‘ए’ डिभिजन लिगमा बढुवा : वाइल्ड कार्ड इन्ट्री

उपाधि : छैन 

प्रशिक्षक : नवीन न्यौपाने

कप्तान : भरत खवास

गत वर्ष : उपविजेता

टिम : भरत खवास (कप्तान), जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, युद्ध शाही, दीपक गुरूङ, दिनेश हेम्जान, विकेश कुथु, सुदील राई, टेकबहादुर बुढाथोकी, टंक बस्नेत ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली व्यावसायिक फुटबल क्लब हो । गत सिजन एएफसीको क्लब लाइसेन्सिङ प्रक्रिया पूरा गर्ने पहिलो नेपाली क्लब बनेको आर्मीले यो सिजनमा पनि त्यसको नवीकरण गरिसकेको छ ।

२०६१ सालमा ‘वाइल्ड कार्ड इन्ट्री’ मार्फत सोझै शीर्ष डिभिजनमा मौका पाएको आर्मी त्यसयता सधैं उपाधि दाबेदार मानिन्छ । तर, अहिलेसम्म टोलीले उपाधि जित्न भने सकेको छैन । गत सिजन भने उपाधिको निकै नजिक पुगेर पनि आर्मी निराश हुनुपरेको थियो ।

च्याम्पियन बन्न लिगको अन्तिम खेलमा १ अंकमात्र आवश्यक रहेका बेला आर्मीले मछिन्द्र क्लबलाई १-० ले नतिजा सुम्पिएको थियो । नतिजासँगै टोलीले उपाधि पनि मछिन्द्रलाई नै सुम्पिएको हो ।

नवीन न्यौपानेको प्रशिक्षणमा रहेको आर्मीले भरत खवासको कप्तानीमा खेल्नेछ । आर्मीले यस पटक जावलाखेलबाट गौतम श्रेष्ठलाई भित्र्याउनु बाहेक अन्य सबै गत सिजनकै टोलीलाई निरन्तरता दिएको छ ।

गत सिजन अन्तिम खेलमा भोगेको स्तब्धपूर्ण नतिजाको पीडामा मलम लगाउँदै यसपालि मछिन्द्रबाट उपाधि खोस्नु आसन्न लिगमा आर्मीको लक्ष्य हुनेछ ।

मनाङ मर्स्याङ्दी  क्लब

स्थापना : २०३९ साल

‘ए’ डिभिजन बढुवा : २०४३ साल

उपाधि : आठ (२०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५)

प्रशिक्षक : राजेन्द्र तामाङ

कप्तान : अञ्जन विष्ट

गत वर्ष : तेस्रो 

टिम : अञ्जन विष्ट (कप्तान), दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दीपक राई, पूजन उपरकोटी, विमल राना, विश्व अधिकारी,  आफिज ओलावाले, एडेलाजा सोमिडे, अशोक बराल, एकराज गुरुङ, दीपक राई, सरोज योञ्जन ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौं पटकको च्याम्पियन क्लब हो मनाङ मर्स्याङ्दी । पछिल्लो पटक ०७५ सालमा बिना रेलिगेसनको लिग जितेको मनाङ गत सिजन भने खराब प्रदर्शन गर्दै तेस्रो स्थानमा सीमित भयो ।

स्वयम्भूमा मुख्यालय रहेको मनाङले यस सिजनबाट पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाएको छ । यस पटक मनाङका केही खेल पोखरामा लैजाने तयारी भइरहेको छ । 

नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन विष्टको कप्तानीमा रहेको मनाङलाई एएफसी ‘ए’ लाइसेन्सप्राप्त पोखरेली प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण दिनेछन् । मनाङका पूर्वरक्षक तामाङ २०५० र २०६० को दशकमा क्लबले थुप्रै सफलता प्राप्त गर्दाका महत्वपूर्ण सदस्य हुन् ।

तामाङलाई सहयोग गर्न विदेशी प्रशिक्षक फुजा तोपेसमेत हुनेछन् । यद्यपि तोपेसँग एएफसी ‘ए’ प्रशिक्षक लाइसेन्स नभएकाले तामाङ नै टचलाइनमा हुनेछन् ।

यस पटक मनाङले युवा खेलाडीको प्रेरणामा नवौं पटक लिग जित्ने योजना बनाएको छ । त्यहीअनुसार मनाङले पछिल्ला वर्षहरूमा नेपालमा नियमित आफ्नो प्रभाव छाडेका आफिज ओलावाले र एडेलाजा सोमिडे जस्ता विदेशी खेलाडीलाई अग्रपंक्तिमा जिम्मेवारी दिएको छ । साथै अन्य दुई विदेशी खेलाडीसमेत मनाङमा हुनेछन् ।

थ्री स्टार क्लब 

स्थापना : २०३१ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०५४ साल

उपाधि : तीन  (२०५४, २०६१ र २०६९ साल)

प्रशिक्षक : उर्जन श्रेष्ठ

कप्तान : विक्रम लामा

गत वर्ष : चौथौ

टिम : विक्रम लामा, आयुश घलान, सन्जोक राई, अनन्त तामाङ, अशोक खवास, हेमन्त थापामगर    

ललितपुरको मंगलबजारको थ्रीस्टार क्लब नेपाली फुटबलमा सबैखाले प्रतियोगितामा सदाबहार दाबेदार हो । चार पटक पटक शीर्ष डिभिजनको लिग उपाधि उचालिसकेको थ्रीस्टारले नजितेको घरेलु फुटबलमा हुने कुनै नकआउट प्रतियोगिता छैन होला ।

थ्रीस्टार सहभागी भएको सबै प्रतियोगितामा पाटने टोलीलाई उपाधिको मुख्य दाबेदार मानिन्छ । विपक्षीहरू पनि थ्रीस्टारलाई त्यो सम्मान दिन कन्जुस्याइँ गर्दैनन् ।

तर पछिल्लो समय थ्रीस्टारको लयमाथि थुप्रै प्रश्न खडा भएका छन् । भुइँचालोका कारण २०७१ सालमा सुरु भए पनि २०७२ सालमा मात्र सम्पन्न भएको नेपाल राष्ट्रिय लिग थ्रीस्टारले जितेको पछिल्लो प्रमुख उपाधि हो ।

परम्परागत सहिद स्मारक लिगमा त २०६९ यता थ्रीस्टारले उपाधि जित्न सकेको छैन । तर यसपालि पाटने टोली झन्डै एक दशकको निरासा मेट्दै लिग च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ ।

मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई अनुबन्ध गरेको टोली कप्तान विक्रम लामाबाट उच्च प्रदर्शनको आसमा छ । चोटका कारण लामो समय मैदानबाहिर रहेका विक्रम लामा पूर्ण रूपमा फिट भइसकेको बताइएको छ । तर उनमा शारीरिक फिटनेस प्राप्त भए पनि म्याच फिटनेसका लागि भने केही समय लाग्नसक्ने अनुमान छ ।

नेपाल पुलिस क्लब (महेन्द्र पुलिस क्लब)

स्थापना : २००८ साल, (एन्फामा २०६० साल) 

‘ए’ डिभिजन बढुवा : वाइल्ड कार्ड इन्ट्री

 

उपाधि : पाँच (२०१२, २०१३ (नेपाल पुलिस फोर्स), २०६३, २०६६-६७, २०६८) 

प्रशिक्षक : अनन्तराज थापा

कप्तान : जुमनु राई, 

गत वर्ष : पाँचौ 

टिम : जुमनु राई, भोला सिलवाल, सुमन सुवेदी, भरत शाह, हेम तामाङ, नीरकुमार राई (युवराज), सुमन लामा, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, रविन श्रेष्ठ, सन्तोष हेमरन, अञ्जन राई, दिनेश गुरुङ, बुद्धबल तामाङ, रोशन खड्का (गोलरक्षक), शत्रुधन चौधरी (गोलरक्षक), सन्जित श्रेष्ठ (गोलरक्षक), हेमन्त श्रेष्ठ, मानबहादुर परियार, तीर्थबहादुर बस्नेत ।

नेपाली फुटबलका सबैखाले प्रतियोगितामा नेपाल पुलिस क्लब सदाबाहर दाबेदार टोली हो । सबैखाले प्रतियोगिताको कुरा गर्ने हो भने नेपाल पुलिस क्लब नेपाली फुटबलमा सबैभन्दा सफल क्लब हो ।

तर शीर्ष डिभिजनको लिगमा पछिल्लो समय आफ्नो प्रभाव बिर्सिएको पुलिसले चार पटक उपाधि जितिसकेको छ । लोकतन्त्र स्थापनासँगै महेन्द्र पुलिसको नाम परिवर्तन गरेर नेपाल पुलिस भएपछि पुलिसले लिगमा उपाधिजित्न सकेको छैन ।

पुलिसले २०४५ र २०४६ सालमा तत्कालीन राष्ट्रिय लिगसमेत जितेको थियो । नेपाल पुलिस क्लब एएफसी प्रेसिडेन्ट्स कपको फाइनल खेल्ने एक्लो नेपाली क्लब हो । नेपाली कुनै पनि क्लबले यो स्तरको प्रतियोगितामा फाइनल पुग्न सकेको छैन ।

तर, पछिल्लो समय भने पुलिसले आफ्नो लय बिर्सेको छ । पछिल्लो समय युवापुस्तामा भर परेपछि क्लबले स्वाभाविक लय समात्न सकेको छैन । यसपालि पनि प्रशिक्षकका रूपमा पुलिसको नेतृत्व पूर्वखेलाडी अनन्तराज थापाले गर्नेछन् भने राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर जुमनु राई टोलीका कप्तान हुनेछन् ।

तथापि जुमनुले बेन्चबाट अधिकांश खेल सुरु गर्ने सम्भावना बलियो हुँदा मैदानमा कप्तानको आर्मब्यान्ड भरत शाह, हेम तामाङहरूको पाखुरामा हुनेछ । पछिल्लो समय राष्ट्रिय टोलीबाट नियमित स्थान बनाएका र आफूलाई प्रमाणित गरेका तेज तामाङ, सुमन लामा, अजित भण्डारी, रवि पासवानजस्ता खेलाडीको साथ रहेको पुलिसको मुख्य लक्ष्य यसपालि लिगमा पुरानो साख फर्काउनु हुनेछ ।

जावलाखेल युथ क्लब

स्थापना : २०२९ साल

‘ए’ डिभिजन बढुवा : २०३३ साल

उपाधि : छैन

प्रशिक्षक : किशोर केसी

कप्तान :  कुलदीप कार्की 

गत वर्ष : छैटौं 

टिम : कुलदीप कार्की (कप्तान) टेकेन्द्र थापा (गोलरक्षक), रूपबहादुर लामा, सुरजज्यू ठकुरी, अमिर श्रेष्ठ, सीमान्त थापा, फ्लोरेन्ट, सुशीलकुमार यादव, राजेन्द्र रावल, सुनील खड्का, विनोद केसी, मनोज श्रेष्ठ, सन्जित कार्की, सन्तोष दाहाल, समिराज थोकर, सन्तबहादुर गुरुङ, मनीष पौडेल ।

सामाजिक काम गर्ने उद्देश्यसहित स्थापना भएको जावलाखेल युथ क्लब २०३३ सालमा शीर्ष डिभिजनमा बढुवा भएको थियो । पहिलो सालमा पाँचौं स्थानमा रहेको जावलाखेलले अहिलेसम्म लिग उपाधि हात पार्न सकेको छैन ।

२०६१ सालमा तेस्रो स्थान हासिल गर्नु सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । ललितपुरको केन्द्रमा रहेको जावलाखेलको आफ्नै मैदान भए पनि राम्रो टिम बनाउने कुरामा टोली सधैं उदासीन रहने गरेको छ । त्यही कारण सधैं जावलाखेल युथ क्लबको उद्देश्य शीर्ष डिभिजनको हैसियत जोगाउने मात्र रहने गरेको छ ।

यसपल्ट राष्ट्रिय टोलीका सदस्य सुरजज्यू ठकुरीको साथ पाउँदा जावलाखेलसँग नेपाल यू-२३ टोलीका पूर्वखेलाडी अमिर श्रेष्ठ, रूपबहादुर लामाजस्ता खेलाडी पनि हुनेछन् । २०६१ सालमा खेलाडी अनुबन्धनमा आक्रामक रूपमा प्रस्तुत हुँदा ऐतिहासिक रूपमा तेस्रो स्थान हासिल गरेको क्लब त्यही इतिहास दोहो¥याउने टोलीको लक्ष्य छ ।

संकटा फुटबल क्लब

स्थापना : २००८ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०११, २०७३ साल

उपाधि :  तीन (२०३७, २०४० र २०४२ साल)

प्रशिक्षक : विष्णु गुरूङ

कप्तान : रवि सिलवाल

गत वर्ष : सातौं

टिम : रञ्जनबाबु थापा, अजय महर्जन, रोहित कार्की, रवि सिलवाल (कप्तान), अर्नेस्ट टम्पी, उपकप्तान सरोज दाहाल (उपकप्तान), नीरज बस्नेत, अमित तामाङ, रोमन लिम्बु, जनक कोइराला, दीपेन्द्र बिक, सुभाष गुरुङ, रोशन पहारी, जया गुरुङ, लक्ष्मण रूचाल, टीकाराज गुरुङ, गणेश हमाल, समिर बराल, उत्तम राई, फोडे फोफना, दीपेश आलेमगर र शीर्षक तुलाधर ।

राजधानीको मुटु न्युरोडमा रहेको संकटा फुटबल क्लब नेपाली फुटबलको एउटा समृद्ध इतिहास बोकेको टिम हो ।  

नेपाली फुटबलमा लामो इतिहासका साथै राजधानी सहरको फुटबल संस्कारसँग पनि विशेष सम्बन्ध राख्ने संकटा पछिल्लो समय त्यहीअनुसारको नतिजाबाट भने विमुख हुँदै आएको छ ।

२०३० र २०४० को दशकमा समग्र नेपाली फुटबलकै नेतृत्व गर्न सफल संकटा क्लबले तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको छ । पछिल्लो पटक २०४२ सालमा लिग जितेयता च्याम्पियन बन्न नसकेको टोली पछिल्लो समय पुरानो साख फर्काउने अभियानमा संघर्षरत छ ।

नकआउट प्रतियोगिताहरूमा सफलता हासिल गर्न थालिसकेको संकटाको लक्ष्य यसपालि चौथो पटक लिग च्याम्पियन बन्ने हुनेछ ।

आफ्नै पुराना खेलाडीलाई प्राथमिकतामा राखेको संकटाले आसन्न लिगका लागि केही थप खेलाडी पनि अनुबन्ध गरेको छ । कागजमा हेर्दा सन्तुलित देखिने टिम कम्तीमा शीर्ष तीनमा रहेर यसपालिको लिग टुंग्याउनेमा विश्वस्त देखिन्छ । त्यसमा टोलीले तीन विदेशी खेलाडीबाट बढी अपेक्षा राखेको छ ।

न्युरोड टिम (एनआरटी)

स्थापना : १९९१ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०१६ (पहिलो पटक) २०७३ (पछिल्लोपल्ट)

उपाधि : चार (२०१७, २०१९, २०३५ र २०५२)

प्रशिक्षक : राजुकाजी शाक्य

कप्तान : विक्रम धिमाल

गत वर्ष : आठौं

टिम : एरिक विष्ट, दर्शन गुरुङ, मौसुके ओलोमौउ, अजित प्रजापति, राजेश परियार, अशोक थापामगर, शिव गुरुङ, रञ्जन विष्ट, स्टेफेन, बिके, विक्रम धिमाल, दीपेश आलेमगर र नवीन गुरुङ ।

काठमाडौंको नयाँसडकलाई आधार बनाउँदै जन्मेको फुटबल क्लब न्युरोड टिम नेपाली फुटबलप्रेमीका लागि परिचित नाम हो । एनआरटीको कुरा गर्दा नेपाली फुटबलमा संकटा क्लबसँग उसको प्रतिद्वन्द्विताको चर्चा झनै रोचक हुनसक्छ ।

एनआरटीसँगै कुरा नमिलेपछि २००८ सालमा संकटा क्लब स्थापना भएको थियो । तर एनआरटीले चार पटक लिग उपाधि जितेर न्युरोड डर्बीमा सान स्थापित गरिसकेको छ ।

एनआरटी यसपालि तीन विदेशी खेलाडीसहित सन्तुलित टिम बनाउँदै पाँचौं पटक ’ए’ डिभिजन लिग जित्ने तयारीमा छ । घरेलु फुटबलको लामो इतिहास बोकेको यो टिम उपाधि हात पार्नका लागि आक्रामक ढंगले अगाडि बढिरेहेको छ ।  

राजुकाजी शाक्यको प्रशिक्षणमा उत्साहसाथ झन्डै एक महिनाअघिदेखि विशेष तयारी थालेको टोलीले आसन्न लिगमा कम्तीमा शीर्ष ६ भित्र अटाउने योजना बनाएको छ ।

च्यासल युथ क्लब

स्थापना : २०३७ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०७३ साल

उपाधि : छैन

प्रशिक्षक : बालगोपाल साहुखल

कप्तान : विराज महर्जन

गत वर्ष : नवौं 

टिम : विकास मेराग्लिया, नेपाली यू-२३ टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की, विराज महर्जन, मौसा र यानिक

शीर्ष डिभिजनको लिगमा च्यासल युथ क्लबको इतिहास लामो छैन । पाँच वर्षको मात्र इतिहास भए पनि च्यासलले नेपाली फुटबलमा प्रभावशाली उपस्थिति पक्का गरिसकेको छ ।

भूइँचालोका कारण रंगशाला भत्किएपछि पाँच वर्षसम्म नेपालमा लिग हुन सकेन । जसका कारण च्यासलले पनि शीर्ष डिभिजनमा उक्लिएपछि पहिलो पटक लिग खेल्न २०७६ सालसम्म कुर्नुप¥यो ।

अहिलेसम्म सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई पटक मात्र सहभागिता जनाउने मौका पाएको टोली दुई वर्षअघि पहिलो पटक खेल्दा नै सनसनीपूर्ण रूपमा प्रस्तुत भएको थियो ।

पहिलो सहभागितामा आठौं स्थान हासिल गरेको च्यासलले गत संस्करणमा त्यसलाई निरन्तरता दिन सकेन । गत सिजन नवौं स्थानमा सीमित भएको च्यासल यसपालि नतिजा सुधार्ने लक्ष्यमा हुनेछ ।

भर्खरै एएफसीको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स पूरा गरेका प्रशिक्षक बालगोपाल महर्जन टोलीको तयारीलाई लिएर उत्साहित छन् । कम्तिमा शीर्ष ६ मा परेर लिग टुंग्याउने उनको लक्ष्य छ ।

हिमालयन शेर्पा क्लब

स्थापना : २०६३ असोज

‘ए’ डिभिजन लिगमा बढुवा : २०६८ साल

उपाधि : छैन

प्रशिक्षक : युगलकिशोर राई

कप्तान : विश्वास श्रेष्ठ

गत वर्ष : दसौं

टिम : विश्वास श्रेष्ठ, त्रिदेव गुरुङ, प्रिस्टोन मुटाम्बा, रियो नाकामुरा, ओलिच सेभी

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो वर्ष २०६८ सालमै हिमालयन शेर्पा क्लबले सनसनीपूर्ण प्रदर्शन गरेको थियो । तत्कालीन संरचनाअनुसार सहिद स्मारक लिगबाट राष्ट्रिय लिगलाई छनोट भएको टोलीले पोखरा र बुटवलमा सम्पन्न राष्ट्रिय लिगमा दोस्रो स्थान हासिल गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा स्थापित क्लबले पहिलो वर्ष बाहेक भने स्मरणीय प्रदर्शन गर्न सकेको छैन । त्यससँगै २०६८ सालमा पाँचौं स्थान हासिल गरेको टोली अन्य संस्करणमा मध्यपंक्तिमा रहेर लिग अन्त्य गर्नेमै रमाउँदै आएको छ ।

काठमाडौंको बाँसबारीमा आफ्नै मैदान भए पनि व्यावसायिक रूपमा अपेक्षित तरिकाले फस्टाउन नसकेको टोलीले यसपालि पनि मध्यपंक्तिमा रहेर लिग टुंग्याउने नै लक्ष्य बनाएको छ । तथापि क्लबका पदाधिकारीहरू शीर्ष चारको लक्ष्य भन्न हिच्किचाउँदैनन् । एन्फा अध्यक्ष शेर्पाको क्लब भएकाले राम्रो टिम बनाएर सुधारिएको प्रदर्शन गर्नु हिमालयन शेर्पाका लागि चुनौती बनेको छ ।

फ्रेन्ड्स क्लब

स्थापना : २०२९ साल

‘ए’ डिभिजन लिगमा बढुवा : २०३१ साल

उपाधि : छैन

प्रशिक्षक : मृगेन्द्र मिश्र

कप्तान : प्रकाश बुढाथोकी

गत वर्ष : ११औं

टिम : प्रिजन तामाङ, प्रकाश बुढाथोकी,

नेपाली फुटबलमा लामो इतिहास बोके पनि लिगमा उपाधि जित्न नसकेको अर्को टोली हो फ्रेन्ड्स क्लब । ललितपुर कुपन्डोलको क्लब पर्याप्त भौतिक सम्पत्तिको मालिक भए पनि फुटबलमा प्रभावशाली उपस्थिति जनाउन असफल रहँदै आएको छ ।

लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको टोली सधैं मध्यपंक्ति वा रेलिगेसनबाट बच्ने संघर्षमा सीमित हुने गरेको छ । यसपालिको लिगमा पनि फ्रेन्ड्स क्लब मध्यपंक्तिको दाबेदार टोली हो ।

कप्तान प्रकाश बुढाथोकीबाट उच्च प्रदर्शन अपेक्षा गरेको टोलीले विदेशी खेलाडीबाट पनि ठूलै आस राखेको छ । तीनजना विदेशी खेलाडी स्तरीय भित्र्याउन सक्यो भने बाँकी टोली जस्तो बनाए पनि नतिजा हात पार्न सकिन्छ भन्ने बुझाइ नेपाली फुटबलमा स्थापित छ, । फ्रेन्ड्स क्लब पनि यही बुझाइबाट प्रभावित देखिन्छ र टोलीले विदेशी खेलाडीबाटै बढी आशा राखेको छ ।

एपिएफ फुटबल क्लब

स्थापना : एन्फामा २०६३ सालमा

‘ए’ डिभिजन बढुवा : वाइल्डकार्ड इन्ट्री

उपाधि : छैन 

प्रशिक्षक : कुमार थापा

कप्तान : तोप विष्ट

गत वर्ष : १२औं 

टिम : टोप विष्ट (कप्तान), अमृत चौधरी (गोलरक्षक), राजु योगी (गोलरक्षक), रोमन रसाइली (गोलरक्षक), विश्वास उदास, आशिष लामा, राजन गुरुङ, सुदीप सिख्राकार, रमेश दंगाल, बुद्धिमान राई, प्रवीण स्याङ्तान, युवराज खड्का, नवीन लामा, श्याम नेपाली, रवि थिङ, सन्तोषकुमार कटुवाल, प्रदीप लामा ।

तीन विभागीय टोलीमध्ये सबैभन्दा कान्छो सशस्त्र प्रहरी बलको एपिएफ क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गर्व गर्नलायक नतिजा छैन ।

हरेकजसो संस्करणमा रेलिगेसनबाट जोगिन संघर्ष गर्नु एपिएफको नियतिजस्तो बनिरहेको छ । यस्तोमा आसन्न लिगमा पनि एपिएफको पहिलो लक्ष्य कम्तीमा लिग अंकतालिकाको मध्यपंक्तिमा रहेर रेलिगेसनको दबाबबाट मुक्त हुनुहुनेछ ।

गत सिजन लिगमा अत्यन्तै खराब प्रदर्शनमा सीमित टोली सहभागी १४ क्लबमध्ये १२औं स्थानमा सीमित भएर एपिएफ मुस्किलले जोगिएको थियो । सहिद स्मारक लिगमा पाँचौं स्थान एपिएफको अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

२०६३ सालमा पहिलो पटक लिगको प्रतिस्पर्धामा उत्रिँदा पाँचौं भएको एपिएफ तीन वर्षअघि भएको बिना रेलिगेसनको लिगमा पनि पाँचौं भएको थियो ।

यस सिजनका लागि एएफसी क्लब लाइसेन्सप्राप्त गर्न सफल एपिएफसामु यसपालि लिग इतिहासको सर्वोत्कृष्ट नतिजा निकाल्दै कम्तीमा शीर्ष चारमा रहनु मुख्य चुनौती हुनेछ ।

राष्ट्रिय टोलीका फरवार्ड आशिष लामाको प्रेरणामा राजन गुरुङ, नवीन लामा, रमेश दंगाल, विश्वास उदास जस्ता खेलाडीको प्रभावले राम्रो प्रदर्शन अपेक्षा गरेको टोलीको नेतृत्व प्रशिक्षकका रूपमा राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक कुमार थापाले सम्हाल्ने छन् ।

ब्रिगेड ब्वाइज क्लब (बिबिसी)

स्थापना : २०४४

‘ए’ डिभिजन बढुवा : २०६१ साल

उपाधि : छैन 

प्रशिक्षक : सनोज श्रेष्ठ

कप्तान :  अनिल गुरूङ

गत वर्ष : १३औं 

टिम : अनिल गुरूङ (कप्तान), रन्दीप पौडेल, शिशिर लेखी,

शीर्ष डिभिजनको लिगमा ब्रिगेड ब्वाइज क्लबले ६ पटक मात्र सहभागिता जनाउन पाएको छ ।

ललितपुरको टोली नेपाली लिगमा सधैं संघर्षरत रहँदै आएको छ । २०६१ सालमा शीर्ष डिभिजनमा उक्लिए पनि टोलीको ‘ए’ डिभिजन यात्रा लामो समय टिक्न सकेन । २०६८ सालमा रेलिगेसनमा परेको टोली फेरि २०७५ सालमा बढुवा भएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सधैं रेलिगेसनबाट बच्ने संघर्षमा सीमित ब्रिगेड ब्वाइज क्लबको यात्रा यसैगरी चल्दै आइरहेको छ । त्यसैले यसपालि पनि ब्रिगेड ब्वाइजबाट धेरै ठूलो आस गरिएको छैन ।

यसपालि सनोज श्रेष्ठको प्रशिक्षणमा रहने टोलीले कागजमा शीर्ष ६ भित्र रहेर लिग टुंग्याउने लक्ष्य बनाएको छ । त्यसका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङलाई अनुबन्ध गरेको क्लबले बाँकी भने नयाँ खेलाडीमा भर गर्ने योजना बनाएको छ ।

फुटबलमा मैदानभित्र जस्तोसुकै नतिजा पनि सम्भव हुने दर्शनमाथि धेरै विश्वास देखाएको टोलीले युवा खेलाडीकै भरमा ठूला क्लबलाई मात दिने कल्पना साँचेको छ ।

सातदोबाटो युथ क्लब

स्थापना : २०५७ साल

‘ए’ डिभिजन बढुवा : २०७७ साल

उपाधि : छैन

प्रशिक्षक : मेघराज केसी

कप्तान :  

गतवर्ष : पहिलो सहभागिता

टिम : मानबहादुर तामाङ, श्यान्सु भुसाल, पिटर सेगुन, अभिषेक बराल (गोलरक्षक), आकाश पुनमगर, रञ्जन पुन ।

यस पटक लिगको नवप्रवेशी क्लब हो सातदोबाटो युथ क्लब । यो क्लब आफ्नो स्थापनाकालपछि पहिलो पटक देशको शीर्ष डिभिजनको लिग खेल्दैछ ।

शीर्ष डिभिजनको लिगमा पहिलो पटक सहभागिता जनाउन लागेको भए पनि ‘ए’ डिभिजनको हैसियत जोगाउनका लागि क्लबले खेलाडी अनुबन्धनमा आक्रामक रूपमा आफूलाई प्रस्तुत गरेको छ ।

सरूवा बजारमा तहल्का मच्चाएको क्लबमा शीर्ष डिभिजनको लिग खेल्ने उत्साह निकै छ । यसका लागि टोलीले झन्डै तीन महिनाअघिदेखि नियमित तयारी सुरु गरेको थियो ।

नेपाली घरेलु फुटबलमा अत्यन्तै सफल र कुशल रणनीतिकारका रूपमा परिचय स्थापित गरेका मेघराज केसीले मुख्य प्रशिक्षकका रूपमा टोलीलाई नेतृत्व गर्नेछन् । केसीको नेतृत्वले शीर्ष डिभिजनमा नयाँ क्लबलाई स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नेपाली फुटबलमा राम्ररी आफूलाई प्रमाणित गरिसकेका विदेशी तथा केही स्वदेशी खेलाडी अनुबन्धन गरेको बताइएको क्लबको तयारी पहिलो सहभागिता नै स्मरणीय बनाउने खालको रहेको बताइन्छ ।