काठमाडौं । स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १-० ले पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणमा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पोखराको जितमा सञ्जिव विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । सञ्जिवले दोस्रो हाफको दुई मिनेट भित्रै पोखरालाई अग्रतामा राखेका थिए ।
इलामको यो लगातार दोस्रो हार हो । यसअघिको खेलमा इलाम बुटवल लुम्बिनी एफसीसँग २-१ को पराजय ब्यहोरेको थियो । त्यसअघि उद्धघाटन खेलमा काठमाडौं रेजर्ससँग १-० ले हारेको इलामले दोस्रो खेलमा एफसी झापामाथि १-० को जित हासिल गरेको थियो । आजको नतिजापछि इलाम तीन अंक जोड्दै सातौं स्थानमा झरेको छ ।
पोखराले चार खेलबाट आठ अंक जोडेको छ । यसअघि एफसी चितवनलाई १-० ले पराजित गरेको पोखरा ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १-१ को बराबरीमा रोकिएको थियो ।
सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौं मिनेटमा गोलको सुन्दर अवसर गुमायो । अमाथ ड्वले राइट साइडमा पाएको फ्रिकिक सोझै १८ यार्ड बक्समा प्रहार गरेका थिए । सो फ्रिकिक पोखराका रक्षकले क्लियर गर्न नसक्दा इलामका इब्राहिम जितेले नियन्त्रणमा राखेका थिए । जितेले पेनाल्टी बक्सको लेफ्ट साइटबाट गरेको क्रसमा ओमार थिओमको होडर बारमाथिबाट बाहिरिँदा पोखराको खतरा टरेको थियो ।
११ औं मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कमारालाई नेपालको झन्डा ओडाएका थिए ।
१२ औं मिनेटमा इलामले पुनः ‘हाफ चान्स’ सिर्जना गरेको थियो । राइट साइडबाट कामाराले गरेको क्रसलाई पेनाल्टी बक्सभि कसैले हेडर नभेट्टाउँदा इलामले मौकाको सदुपयोग गर्न सकेन ।
२० औं मिनेटमा पोखराले पहिलो आक्रमण बनायो । पोखराका दीपेश आलेमगरले राइट साइडबाट गरेको क्रस पेनाल्टी बक्सभित्रका मोसेस त्वमले हेडर कनेक्ट गर्न नसक्दा इलामको खतरा सजिलै टरेको थियो ।
२९ औं मिनेटमा इलामले पुनः गोलको सुन्दर अवसर खेर फाल्यो । अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कमाराले ‘फस्ट टच’ प्रहार गरे पनि सेकेन्ड पोखराका गोलकिपर प्रिसोलाई छुँदै सेकेन्ड बार नजिकैबाट बाहिरियो ।
पहिलो हाफको अन्तिम मिनेटमा इलामका ओमार थिओमले बक्सबाहिरबाट गरेको सशक्त प्रहार गुइलियम प्रिसोले सहजै बचाउँदै पोखराको खतरा टारेका थिए ।
तर, पहिलो हाफको ठिक विपरित दोस्रो हाफमा भने पोखरा सुरुआतमै आक्रमक बन्यो । दोस्रो हाफको पहिलो मिनेटमा नै मोसेस ग्यावाहको प्रहार गोलाइनबाट घुमेर निस्किदा पोखराले अग्रता बनाउन सकेन । लेफ्ट साइडमा सञ्जिव विष्टको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।
तर, त्यसको अर्को मिनेटमा सञ्जिवले गोल गर्दै पोखरालाई अग्रतामा राखे । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका आयुश घलानले लिएको कर्नरमा १८ यार्डभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।
६७औं मिनेटमा इलामले गोलको अर्को अवसर खेर फाल्यो । राइट साइडबाट अमाथ ड्वले गरेको फ्रिकिकमा ६ यार्ड बक्सबाट ‘अनमार्क’ रहेका विमल पाण्डेको हेडर दिशाहीन बन्दा इलामले अग्रताको राम्रो अवसर सदुपयोग गर्न सकेन ।
प्रतियोगितामा बिहीबार एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्नेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।