काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुईगोल प्रेरित पोर्चुगल युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ ले हराएको हो ।
जितपछि समूह ‘जी’ मा अपराजित पोर्चुगलले सात खेलबाट २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको पोर्चुगल दोस्रो स्थानमा स्लोभाकिया भन्दा आठ अंकले बढी छ । पोर्चुगलले सात खेलबाट मात्र दुई गोल बेहोर्दै २५ गोल गरेको छ ।
स्लोभाकिया समान खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । लक्जमबर्ग ११ अंकसहित तेस्रो स्थानमा छ ।
राति नै भएको अन्य खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २–१, ग्रीसले आयरइलान्डलाई २–०, बेल्जियमले अष्ट्रियालाई ३–२, अजरबैजानले इस्टोनियालाई २–० ले हराएको छ ।
शुक्रबार रातिका खेलसँगै फ्रान्स, बेल्जियम र आयोजक जर्मनीले युरो २०२४ मा स्थान सुरक्षित गरेका छन् । जर्मनीको दश शहरमा आयोजना हुने विश्वकपमा २४ टोलीले सहभागिता जनाउनेछन् ।
घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । गोन्कालो रामोसले एक गोल गरेका थिए । अर्का स्टार ब्रुनो फर्नान्डेजले दुई असिस्ट गरेका थिए । स्लोभाकियाका डेभिड हान्स्को र लोबोक्ताले समान एक गोल गरे ।
यसै खेलमार्फत रोनाल्डोले पोर्चुगलको लागि दुई सय २ खेलमा एक सय २५ गोल गरेका छन् । खेलको १८औं मिनेटमा गोन्कालोले गोल गरेका थिए । पहिलो गोलको लागि फर्नान्डेजले पास उपलब्ध गराए । २९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
हान्स्कोले ६९औं मिनेटमा अग्रता २–१ मा झारे । फर्नान्डेजले मिलाएको पासमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ३–१ को अग्रता बनाएका थिए । डुडाको पासमा लोबोत्काले गोल गरेपनि बराबर गर्न पर्याप्त भएन ।