लन्डन । बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचेलले आफू प्रशिक्षक रहँदा र वर्तमान चेल्सीको वातावरण धेरै परिवर्तन भैसकेको बताएका छन ।
केही दिन अघि मात्र जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले नागेल्सम्यानलाई बर्खास्त गर्दै टुचेललाई प्रशिक्षकमा नियुत्त गरेको थियो । चेल्सीले पनि आइतबार ग्राहम पोर्टरलाई बर्खास्त गरेको थियो ।
नागेल्सम्यान स्टामफोर्ड ब्रिजको प्रशिक्षण सम्हाल्न जाने चर्चाकाबीच टुचेलले भने उनलाई त्यहाँ जान नसुझाउने बताए ।
‘पहिलो कुरा मलाई नागेल्सम्यानले आफ्नो नयाँ गन्तब्यका बारेमा सोध्दैनन’,टुचेलले भने, ‘उनलाई मेरो सुझाव नै चाहिदैन र उनी स्टामफोर्ड ब्रिज पनि जाँदैनन । म बायर्नको सफलतामा केन्द्रित छु । चेल्सीको प्रशिक्षणमा होइन । ’
‘म चेल्सीको प्रशिक्षण सम्हालिरहँदा क्लब व्यवस्थापन राम्रो थियो, उनीहरु प्रशिक्षकको निर्णयमा सहमत हुन्थे’, टुचेलले भने, ‘तर अहिले अवस्था फेरिएको छ । प्रशिक्षकले स्वतन्त्र भएर काम गर्न पाउँदैन । क्लब व्यवस्थापन हरेक निर्णयमा हाबी हुने गरेको छ ।’
गत सेप्टेम्बरमा चेल्सीले टुचेलाई बर्खास्त गर्दै पोर्टरलाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।