युरोपियन च्याम्पियनसिप २०२४ को छनोट

जोसेलुको गोलमा स्पेनको सहज जित

मड्रिड । जोसेलुले दुई गोलका साथ आफ्नो डेब्यु सुखद पारेको दिन शनिबार स्पेनले युरोपियन च्याम्पियनसिप २०२४ को छनोट यात्रामा विजयी सुरुआत गरेको छ । 

यसक्रममा स्पेनले समूह ए को खेलमा नर्वेलाई ३-० ले पराजित गरेको हो । स्पेनले प्रशिक्षक लुइस डे ला फ्युन्टेको प्रशिक्षणमा निकालेको यो पहिलो जित हो ।

एर्लिङ हाल्यान्डविना मैदान उत्रिएको नर्वेसामु स्पेनले प्रभावशाली प्रदर्शन भने गर्न सकेको थिएन । तर खेलको अन्तिम समयमा जोसेलुले दुई गोल गरेसँगै स्पेनले सहज जित पक्का गरेको हो ।

कतार विश्वकप २०२२ मा खराब नतिजा ल्याएसँगै लुइस इनरिकेले राजिनामा दिएपछि डे ला फ्युन्टे स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए ।

१३औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले अग्रता लिएको थियो । ८४औं मिनेटमा जोसेलुले स्पेनको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि नै जोसेलुको दोस्रो गोल गर्दै स्पेनको सहज जित पक्का गरेका थिए  ।

यसअघि समूह ए कै अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३-० ले हराएको थियो ।