प्रधानमन्त्री थ्री नेसन्सकप

लाओसको एक पाइला फाइनलमा

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्सकपमा लाओसले भुटानलाई हराएृपछि एउटा यस्तो समीकरण तयार भएको छ, जसले भन्छ, सायद लाओसको एक पाइला फाइनलमा छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ । इतिहासले भन्छ, नेपाल भुटानविरुद्धको खेल कहिले पनि गुमाउँदैन् ।

त्यसैले त हो, लाओस फाइनल पुगेको अनुमान गर्न सकिने । शनिबारको खेलमा अपेक्षा थियो, यो खेल भुटानले जित्ने छ । तर लाओस धेरै अर्थमा उसका सामु बलियो प्रतिद्वन्द्वी सावित भयो । तय छ, नेपाल पनि भुटानसामु यो भन्दा बढी बलियो प्रतिद्वन्द्वी हुनेछ, त्यसैले फाइनलमा लाओस नै हुनेछ ।

त्यसमाथि बराबरी पनि नेपाललाई पर्याप्त छ, भलै यो पनि टिमलाई अस्विकार्य छ । भुटानले नेपाललाई हराउने अकल्पनीय स्थितिमा मात्र यी सबै समीकरण फेरिनेछ । त्यो स्थितिमा सबैको तीन अंक हुनेछ र फाइनल जाने टिमको निर्णय ‘हेड टु हेड’ बाट हुनेछ । एकले अर्को टिमलाई हराएको स्थितिमा अन्ततः निर्णय ‘गोल अन्तर’ बाटै हुनेछ ।

यसका लागि पनि भुटानलाई ठूलो अन्तरको जित आवश्यक हुनेछ, नेपालमाथि । खासमा चार टिमको समूह चरणमा के कस्तो हुनेछ भने अनुमान गर्न सजिलो हुन्छ, तीन टिमको निकै गाह्रो हुन्छ । कहिलेकाहीं यो निकै जटिल पनि हुने गर्छ । नेपाल र लाओसबीच नै फाइनल हुने दाबीको एक मात्र कारण के हो भने भुटानी टिमले अब जित्नेछ भनेर विश्वास गर्न सकिन्न ।