थ्री नेसन्स कप

लाओसविरुद्ध भुटानः समान हैसियत

काठमाडौं । फिफा वरीयतामा लाओस रहेको छ, एक सय ८७ औं स्थानमा । अनि भुटानको वरीयता हो, १ सय ८५ । यो त विश्व फुटबलमा समान हैसियत भएका तल्लो क्रमका दुई टिम न रहे ।

फेरि लाओस जहाँ दक्षिणपूर्वको सबैभन्दा कमजोर फुटबल देश हो, त्यहीं भुटानलाई लिएर पनि दक्षिण एसियाली फुटबलमा यही भन्न सकिन्छ । यिनै दुई आज (शनिबार) दशरथ रंगशालामा भिड्दै छन्, थ्री नेसन्स कपको दोस्रो खेलमा ।

खेल सुरु हुनेछ साँझ ६ बजे । यी सबै अर्थमा एउटा तथ्य निश्चित छ, प्रतिस्पर्धा बराबरकै हुनेछ । समाचारमा उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने यी दुई टिम पहिलो पल्ट एक आपसको सामना गर्दैछन् । खालि कति भने लाओसले प्रतियोगिताको पहिलो खेल आयोजक नेपालसँग गुमाएको थियो । स्कोर थियो, २-० । हार नै सही, तर त्यस खेलमा जहाँ नेपालको खेल चित्त बुझ्दो रहेन्, त्यहीं लाओसले खेलको समाप्तीमा मैदान छाड्दा खेलाडीको शिर झुकेको थिएन ।

‘हामी हार्न त हार्‍यौं, तर प्रदर्शनलाई लिएर हामीलाई कुनै दुःख छैन्,’ लाओसका जर्मन प्रशिक्षक माइकल वायसले भनेका थिए । तर त्यही हारले भुटानको सामना गर्दा लाओस एक हात तल भने छ । यो खेल गुमाउने हो भने लाओस प्रतियोगिताबाट बाहिरिने छ र चाँडै घर फर्कने छ । प्रतियोगितामा कायम रहन लाओसलाई जित त खुसीकै उपलब्धी हुनेछ, कम्तीमा बराबरीले पनि काम गर्न सक्नेछ । यसको ठीक उल्टो भुटान जितसँगै फाइनल पुग्न चाहन्छ ।

यो स्थितिमा भुटान मात्र होइन्, नेपाल पनि फाइनल पुग्नेछ । यस्तोमा नेपाल र भुटानबीचको लिग चरणको अन्तिम खेल खालि प्रतिष्ठाका लागि मात्र खेलिने डर पनि छ ।

आजको खेल बराबरी भए पनि नेपाल फाइनल पुग्नेछ । एक अर्को अर्थमा पनि भुटान बलियो छ र यसको कारण हो, एक प्रकारले दशरथ रंगशाला भुटानको दोस्रो घर न हो । यही रंगशालामा भुटानले तीन वर्ष अगाडि दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनल खेलेको थियो । त्यस प्रतियोगितामा भुटानको प्रदर्शन धेरै अर्थमा ऐतिहासिक रह्यो ।

भुटानी फुटबल इतिहासमा त्यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन थियो । तिनै दिन सम्झेर भुटानी कप्तान चेन्चो ग्याल्चेन समय समयमा मख्ख पर्छन । उनी चाहन्छन्, लाओसको सामना गर्दा नेपाली जत्ति भुटानकै समर्थक होस । 

सागको बेला पनि त्यस्तै भएको थियो । अझ ती दिन सम्झेर ग्याल्चेन भन्थे, ‘त्यति बेलाको समर्थनका लागि मैले धन्यवाद पनि दिन पाएको थिइन, अहिले दिन्छु र लाओसको सामना गर्दा पनि हामीले यस्तै समर्थन पाउन अनुरोध छ ।’

सायद हुने यस्तै हो, त्यसमाथि उनले अब मछिन्द्रबाट खेल्ने पनि तय भइसकेको छ । अब उनी दुई पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्रको जर्सीमा देखिने छन् । अझ फेरि उनी नेपाली टिमका कप्तान किरण लिम्बूका साथी खेलाडी पनि हुन् । उनीहरू दुवै जना भारतको आई–लिगमा राउन्डग्लास पंजावका लागि खेल्थे । सँगै लिग नै जिते । यसबीच तटस्थ फुटबल समर्थक के चाहन्छ भने लाओस र भुटानबीचको आज खेल दमदार होस, हेर्नमा छुट्टै मज्जा आओस ।