थ्री नेसन्स कप

पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाडौं ।  प्रधानमन्त्री कप  थ्री नेसन्स कप अन्तर्गत उद्घाटन खेलको पहिलो हाफ समाप्त हुँदा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा अनन्त तामाङको गोलमार्फत नेपालले अग्रता लिएको हो । अनन्तले खेलको ३० औं मिनेटमा नविन लामाको कर्नर क्रसलाई हेडिङमार्फत पोस्टको दिशा दिएका थिए ।

नेपालका लागि अनन्तको यो तेस्रो गोल हो । दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग र्गा सकेनन् ।

२९ औं मिनेटमा नेपालका आयुष घलानको क्रसलाई लाओसका अनन्ताजा सिफोङफानले क्लियर गरेका थिए । सोही क्लियरमा  प्राप्त कर्नरलाई नेपालले सदुपयोग गरेको हो ।

खेलको तेस्रो र आठौं मिनेटमा लाओसका बाउनफाचन बाउनकोङको प्रहार बाहिरिएको थियो ।

पाँचौं मिनेटमा घलानको पासलाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन् । १९ औं मिनेटमा एरिक विष्टको पासमा पुजन उपरकोटीले गरेको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि नवीनको पासमा नवयुगले गरेको हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा लाओसका माइकल भांगको प्रहार बाहिरिएको थियो ।