थ्री नेसन्स कप

सिनियर टोलीबाट सनिशको अन्तर्राष्ट्रिय डेब्यू

फाइल तस्बिर

काठमाडौं । रक्षक सनिश श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका छन् । सनिशले लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा लाओसविरुद्ध  पहिलो रोजाइमा पर्दै रोजाइमा खेल्दै डेब्यू गरेका हुन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ । 

विभागीय टोली नेपाल एपिएफ क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै राम्रो प्रभाव छाडेका सनिश प्रशिक्षक भिन्सेन्जो एल्बर्टो एनासीको नजरमा परेका थिए । एपिएफको लागि राइट ब्याक पोजिसनमा खेल्ने सनिश आवश्यक पर्दा सेन्टर डिफेन्स पनि खेल्छन् ।

तनहुँमा जन्मिए पनि ६ वर्षकै उमेरका बुबा प्रविन श्रेष्ठसँग काठमाडौं आएर हात्तीवनस्थित एलए स्कुलमा पढ्न थालेपछि सनिशको फुटबल यात्रा सुरु भएको थियो । एलएको टोलीबाट फुटबल खेल्ने सनिशले २०७४ सालमा पहिलो पटक ब्रिगेड ब्वाइज क्लबबाट ठूलो प्रतियोगिताका रूपमा ललित स्मृति यु-१८ प्रतियोगिता खेलेका थिए ।

दोस्रो संस्करण फ्रेन्ड्स क्लबबाट खेले । ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताका दुवै संस्करणमा सनिशको प्रदर्शन औसत थियो । तथापि २०७५ सालमा कुपन्डोलको टोली फ्रेन्ड्सले सनिशलाई सिनियर टोलीबाटै लिग खेलायो । दुई वर्ष फ्रेन्ड्समा बिताएपछि सनिश बिभागीय टोली नेपाल एपिएफ क्लबमा आबद्ध  भएका थिए ।

सनिशले गत संस्करण एपिएफलाई रेलिगेसनबाट जोगाउन महत्वपूर्ण भुमिक निवार्ह गरेका थिए ।