थ्री नेसन्स कप

थ्री नेसन्स कपः उपाधिमा तीनै टोलीको दाबी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रधान्मन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत १७ (शुक्रबार)सम्म संञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छ ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

नेपालले भुटानसँग अहिलेसम्म औपचारिक रूपमा १२ पल्ट खेलेको छ । यी सबैमा नेपाल विजयी रहेको छ । लाओसविरुद्ध नेपालले दुई पटक खेलेको छ, दुवै खेल बराबरीमा सकिएको थियो ।

प्रतियोगिताअघि मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा तीनै टोलीको प्रशिक्षक तथा कप्तानले प्रतियोगिताका लागि उत्साहित रहेको प्रतिक्रिया दिँदै टोलीको लक्ष्य उपाधि जित्नु हुने बताए ।

कुनै पनि टोलीलाई वरीयताको आधारमा कमजोर नठान्न एनासीको चेतवानी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनासीले भुटान र लाओसलाई वरीयताका आधारमा कमजोर आकलन गर्नु मुर्खता हुने बताएका छन् ।वरीयता उसका लागि हो, जसले फुटबल जानेको छैन । विश्वकपमा वरीयताको शीर्ष स्थानमा रहेर पनि बेल्जियम तल्लो स्थानका टिमहरुसँग पराजित हुन पुग्यो । यो फुटबल हो, जे पनि हुन सक्छ । भुटान र लाओसलाई कम आकलन गरेका छैनौं,’एनासीले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा जित्नु हो । यी खेलले साफका लागि हामीलाई निक्कै सहयोग पुर्याउनेछ ।’

त्यस्तै एनासीले तीन दिनको तयारी राम्रो भएको र नयाँ चुनौती सामना गर्न तयार रहेको बताए । साथै घरेलु लिगमा खेलाडीहरुको प्रदर्शनलाई प्रत्यक्ष रुपमा हेरेकाले राम्रा खेलाडीहरु छान्न पाएको बताए।

‘तयारी राम्रो छ । हामीसँग धेरै नयाँ अनुहारहरु छन् । म १८ दिनयता नेपालमै छु । लिगका दौरान ४५/४५ मिनेट छुट्टाएर प्रायः सबै खेल भ्याएको छु । त्यसैले मलाई विश्वास छ, मैले पोजेसन अनुसार राम्रा खेलाडी छानेको छु । धेरै खेलाडी चोटका कारण टोलीमा परेका छैनन् । मैले पूरा ९० मिनेट खेल्न सकेका खेलाडीलाई प्राथमिकता दिएको छु । एउटा मात्रै गुण भएकालाई भन्दा धेरै गुण भएका खेलाडीहरु टोलीमा परेका छन्,’एनासीले भने ।

यसैगरी कप्तान तथा गोलकिपर किरण चेम्जोङले चुनौतीका लागि तयार रहेको बताए ।

‘प्रशिक्षण गर्न पर्याप्त समय नपाएका कारण चुनौती छ । तर, यसको सामाना गर्न तयार छौँ । शारीरिक रुपमा खेलाडीहरु पूर्ण रुपमा फिट छन् । मात्र उनीहरुलाई मानसिक रुपमा तयार गर्नुपर्ने छ,’किरणले भने, ‘मलाई लाग्छ, लाओसको टोली एकदमै राम्रो छ । भुटानको कुरा गर्दा पनि त्यही हो, फुटबलमा धेरै सुधार गरेका छन् । अहिले नै जित्छु भन्ने भन्दा पनि राम्रो दिने कोसिश गर्छौं ।’

लाओस फुटबलको स्तर देखाउने कप्तानको चाहना

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लाओसको फुटबलको स्तर देखाउन चाहेको बताए ।

'टोलीमा धेरै परिवर्तन भएको छ। नयाँ कोच छन् । युवा खेलाडीको बाहुल्यता छ,’भोङ्चियाङखामले भने, ‘पहिलो पटक नेपालमा खेल्न उत्साहित छौं । हामी लाओसको फुटबल स्तर देखाउन चाहन्छौं ।’

यसैगरी लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहे पनि राम्रो नतिजाकै लागि खेल्ने बताए ।

‘प्रतियोगिता आयोजना गरेकोमा नेपाललाई धन्यवाद । हामीसँग युवा टोली छ । भविष्यका लागि टोली बनाईरहेका छौँ,’वेसले भने,‘लिगले गर्दा तयारी कम भयो । हामी राम्रो नतिजाका लागि खेल्छौं ।’

उपाधि जित्ने भुटानको लक्ष्य

भुटानका मुख्य प्रशिक्षक पेमा दोर्जीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको र टोलीको लक्ष्य उपाधि जित्ने हुने बताएका छन् ।  

‘हाम्रो तयारी निकै राम्रो भएको छ । दुई महिनाको तयारी छ । साफ पछि कुनै खेल खेलेका छैनौं । तर खेलाडीहरू खेलाडीहरु फिट छन्’ दोर्जीले भने,‘उनीहरुले शतप्रतिशत दिनेछन् भन्ने विश्वास छ । अन्य टोलीको जस्तै हाम्रो पनि उपाधि जित्ने लक्ष्य छ ।’

यसैगरी भुटानका कप्तान चेन्चो ग्याल्सेनले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् ।

‘नेपालमा खेलको राम्रो अनुभव छ । साफमा यहाँ समर्थकले राम्रो  साथ दिनु भएको थियो । त्यसका लागि धन्यवाद । नेपाली समर्थका माझ खेल्न निकै उत्साहित छु । किरण र म एकै टोलीबाट खेल्ने गर्छौ । त्यसैले हामीलाई एक अर्काको बारेमा राम्रोसँग थाहा छ । खेल प्रतिस्पर्धात्मक र रमाइलो हुने आश छ ।’