थ्री नेसन्स कप

हामी लाओसको फुटबल देखाउन चाहन्छौंः कप्तान भोङ्चियाङखाम

काठमाडौं । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लाओसको फुटबल देखाउन चाहेको बताएका छन् ।

प्रतियोगिताको अघिल्लो दिन आज (मंगलबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा भोङ्भियाखामले पहिलो पटक नेपालमा खेल्न उत्साहित रहेको भन्दै आफ्नो स्तरको फुटबल देखाउन चाहेको बताएका हुन् ।

‘टोलीमा धेरै परिवर्तन भएको छ। नयाँ कोच छन् । युवा खेलाडीको बाहुल्यता छ,’भोङ्चियाङखामले भने, ‘पहिलो पटक नेपालमा खेल्न उत्साहित छौं । हामी लाओसको फुटबल देखाउन चाहन्छौं ।’

यसैगरी लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहे पनि राम्रो नतिजाकै लागि खेल्ने बताए ।

‘प्रतियोगिता आयोजना गरेकोमा नेपाललाई धन्यवाद । हामीसँग युवा टोली छ । भविष्यका लागि टोली बनाईरहेका छौँ,’वेसले भने,‘लिगले गर्दा तयारी कम भयो । हामी राम्रो नतिजाका लागि खेल्छौं ।’

नेपाल, लाओस र भुटान सम्मिलित थ्री नेसन्स कप बुधबारबाट त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुँदैछ ।

प्रतियोगितामा लाओसले बुधबार नेपाल र शनिबार भुटानको सामना समान गर्नेछ ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छ ।