इङ्लिस प्रिमियर लिग

केनलाई हेरेर हाल्यान्डले आफुलाई सुधार गर्न सक्छन्ः ग्वार्डिओला

काठमाडाैं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इर्लिङ हाल्याण्डले टोटनहमका ह्यारी केनलाई हेरेर आफ्नो खेलमा सुधार ल्याउन सक्ने बताएका छन् ।

साबिक विजेता सिटीले प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमको सामना गर्दैछ । २२ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्डले यस सिजनको प्रिमियर लिगमा १९ खेलमा २५ गोल गर्दै तीन गोलका लागि अवसर सिर्जना गरेका छन् ।

‘हाल्यान्ड क्षमतावान खेलाडी हुन् । उनको यो विशेषता तारिफ योग्य छ । तर, उनले आफ्नो खेललाई अझै कसरी सुधार गर्नुपर्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ’, ग्वार्डिओलाले भने ।

ग्वार्डिओलाले हाल्यान्ड पनि केनको खेललाई अध्ययन गरेर उनी जस्तै अलराउण्डर बन्न सक्ने बताएका हुन् । 

केही दिन अघि फुलहमविरुद्ध गोल गर्दै केन टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका बनेका थिए । उनले प्रिमियर लिगमा क्लबका लागि एक सय ९९ गोल गरिसकेका छन्।

‘मलाई लाग्छ हाल्यान्डले केन लगायत अन्य उत्कृष्ट खेलाडीको पनि पनि प्रर्दशन हेर्नुपर्छ । यद्यपी, उनी आफैलाई थाहा छ । यो उमेरमा आफुमा विश्वास हुन आवश्यक छ’, ग्वार्डिओलाले भने ‘केनले यस सिजन प्रिमियर लिगका २१ खेलमा १६ गोल गरेका छन् । मैले देखेकामध्ये केन अहिलेसम्मकै राम्रो स्ट्राइकर हुन् । ’