काठमाडौं । ट्वान्टी २० आइ को ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका भारतीय ओपनर अभिषेक शर्मालाई नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी भन्दा पछाडी रहेका छन् ।
आइतबार मात्र सकिएको ट्वान्टी २० विश्वकपमा दीपेन्द्रले अभिषेकले भन्दा धेरै रन बनाएका हुन् । विश्वकपमा अभिषेकले भन्दा ४ खेल कम खेलेका दीपेन्द्रले १६९ रन बनाए भने अभिषेकले ८ खेलमा मात्र १४१ रन बनाएका थिए ।
समूह चरण पार गर्न नसकेको नेपालका लागि दीपेन्द्रले २ अर्धशतक बनाएका थिए । दीपेन्द्रले स्कटल्याण्ड र वेस्ट इण्डिजविरुद्धको खेलमा अर्धशतक पूरा गरेका थिए । वेस्ट इण्डिविरुद्ध दीपेन्द्रले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।
दिपेन्द्रले स्कटल्याण्डसँग भने २३ बलमा अविजित ५० रन बनाएका थिए । दीपेन्द्रले इङ्ल्याण्डविरुद्ध ४४ तथा इटलीविरुद्ध १७ रन बनाएका थिए । भारत विश्वकपको च्याम्पियन बन्दै गर्दा शर्माले भने सोचेअनुसारको प्रदर्शन गर्न नसक्दा सर्वाधिक रनकर्ताको सुचीमा ४०औं स्थानमा रहे ।
पहिलो विश्वकपको रुपमा घरेलु मैदानमा खेलिरहेका शर्मा सुरुवाती ३ खेलमा शुन्य रनमा नै आउट भएका थिए । शर्माले जिम्बावेसँग र फाइनलमा न्युजिल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यि दुई बाहेक अन्य खेलमा शर्माको प्रदर्शन खास रहेन ।
शर्मालाई क्यानडाका युवराज समरा, युएईका अलिशान सरफु, नेदरल्याण्ड्सका बास डि लिडे लगायतले पनि पछि पारेका थिए ।
