काठमाडौं । भारतीय ओपनर प्रियान्क पन्चालको सानदार पारी र अन्तिम ओभरमा पवन शराफको आक्रमक ब्याटिङप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुई अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एनपिएल खेलको पहिलो अनुभव लिइरहेका पन्चालले ४८ बलमा सात चौका र ६ छक्कासहित ९० रनको सानदार पारी खेले । पवनले १६ बलमा एक चौका र तीन छक्काको मद्धतमा २७ रन बनाए ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि अर्का ओपनर म्याक्स ओ’डाउडले २० रन बनाए । डाउडले पहिलो विकेटका लागि पन्चालसँग ६१ रनको साझेदारी गरेका थिए । यसबाहेक मार्क वाटले १६ रन बनाउँदा निजीबुल्ला जद्रान चार रनमा अविजित रहे ।

चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवी बोपाराले समान एक विकेट लिए ।
ब्याटिङ पावरप्लेमा ५१ रन जोडेको कर्णालीले १४औं ओभरको पाँचौं बलमा कर्णालीले एक सय रन पूरा गर्यो । यसबीच ओ’डाउड नवौं ओभरको पाँचौं बलमा सेफ जैबबाट बोल्ड भए । त्यसपछि पन्चालले मार्क वाटसँग मिलेर ६३ रनको साझेदारी गरे ।
१६औं ओभरको चौथो बलमा रवी बोपाराले पन्चाललाई पवेलियनको बाटो देखाउँदै चितवनलाई ब्रेक थ्रु दिलाए । पन्चाल लङ अनमा देव खनालबाट क्याच भए । त्यसपछि आएका पवनले वाटसँग मिलेर पारीलाई उकासे ।

१९औं ओभरको अन्तिम दुई बलमा पवन शराफले लगातार छक्का प्रहार गर्दै कर्णालीलाई राम्रो योगफलततर्फ दोहोर्याएका हुन् । त्यसपछि इनिङ्सको अन्तिम बलमा उनले पुनः छक्का प्रहार गरेपछि कर्णालीले १६६ रनको योगफल खडा गरेको हो । १९औं ओभरको दोस्रो बलमा वाट सोहेल तनवीरको शिकार बनेका थिए । उनी रिजन ढकालबाट क्याच भए ।
