काठमाडौं । भारतले एसिसी ट्वान्टी-२० एसिया कपमा आइतबार पाकिस्तानविरुद्ध सात विकेटको जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको भारतले सुपर ४ को सम्भावना बलियो बनाएको छ । हार बेहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराएका थिए ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका कप्तान सूर्यकुमार यादवले अविजित ४७, अभिषेक शर्मा र तिलक बर्माले समान ३१ तथा तथा शिवम दुबेले अविजित १० रन बनाए ।
तेस्रो विकेटका लागि यादव र बर्माबीच ५६ रनको साझेदारी भएको थियो । पाकिस्तानका लागि तीनै विकेट साइम अयुबले लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि सहिबजादा फरहानले ४०, शाहिन शाह अफ्रिदीले अविजित ३३ रन, फखर जमानले १७, फहिम असरफले ११ र सुफियान मुकिमले १० रन बनाए ।
भारतका लागि कुलदीप यादवले तीन, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई तथा हार्दिक पाण्डेया र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।