काठमाडौं । वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले एसिसी यु १९ एसिया कपमा कुवेतसामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङका लागि आएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रनको योगफल खडा गरेको हो ।
नेपालले सुखद सुरुआत भने गर्न सकेन । ४.३ ओभरमा २७ रन जा्ड्दा तीन विकेट गुमाएको नेपालको इनिङ चौथो विकेटका लागि विकेक र वासिरले ९२ रनको साझेदारी गर्दै उकासेका थिए ।
वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रन बनाए । आलमले ४२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।
कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए ।
समूह ‘बी’ मा रहेको नेपाल प्रतियोगितामा सुखद अन्त्य चाहन्छ । पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।