काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हासिल गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो ।
कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाउँदैपूरा गर्यो ।
कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्यो । काठमाडौंका लागि सातौं नम्बरका ब्याटर सुमित महर्जनले ३७ बलमा तीन चौका र एक छक्कासहित अविजित ४० रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर जेरार्ड इरास्मसले २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए ।
यसैगरी कप्तान करण केसी १० बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । ओपनर माइकल लेभिटले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीका लागि कप्तान सोमपाल कामी सबैभन्दा महँगा बलर सावित भए । उनले चार ओभरमा ३४ रन खर्चिँदा मात्र एक विकेट हासिल गरे । त्यस्तै नन्दन यादव, गुल्सन झा, जीसन मक्सुद, विपिन शर्माको नाममा पनि समान एक विकेट रह्यो ।
दोस्रो ओभरको चौथो बलमा शंकर राणा रनआउटको शिकार बन्दा काठमाडौंले पहिलो विकेट गुमाएको थियो । चौथो ओभरको दोस्रो बलमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टेफन स्किनाजी नन्दन यादवको बलमा एलबिडब्ल्युको शिकार बने ।
सातौं ओभरको पाँचौं बलमा काठमाडौंले ओपनर माइकल लेभिटलाई गुमायो । लेभिट स्पिनर विपीनको बलमा नन्दनबाट क्याच भए । लगत्तैको ओभरमा चौथो नम्बरका ब्याटर भिम सार्की पनि पेभिलियन फर्किए । भिम जीसनको बलमा धवनबाट क्याच भए । ४१ रनमा चार विकेट गुमाएको काठमाडौंको पारी त्यसपछि मध्यक्रमका ब्याटरद्धय जोरार्ड इरास्मस र सुमितले सम्हाले । दुबै मिलेर ५७ रनको साझेदारी गरे ।
१५औं ओभरको पाँचौं बलमा इरास्मस २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रनको पारी खेल्दै पेभिलियन फर्किए । इरास्मस तीव्र गतिका बलर गुल्सनको बलमा कप्तान सोमपालबाट मिड अफमा क्याच भए । त्यसपछि कप्तान करण र सुमितले ४५ रनको साझेदारी गर्दै काठमाडौंलाई जिततिर दोहोर्याएका थिए ।
एक रन बाँकी रहेको स्थितिमा सुमितले चौका प्रहार गर्दै काठमाडौंलाई पहिलो जित दिलाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरको समाप्तिमा ओपनर शिखर धवनको अर्धशतकीय पारीप्रेरित पाँच विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।
धवनले ५१ बलमा चार चौका र पाँच छक्कासहित ७२ रनको पारी खेले । यसबाहेक चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाउँदा जीसन मक्सुदले ११ बलमा एक चौकासहित १४ रनको योगदान गरे । त्यस्तै बाबर हायातले १८ बलमा एक छक्कासहित १३ रन बनाउँदा गुल्सन झाले १९ बलमा एक चौकासहित १२ रन जोडे । देव खनाल र अर्जुन घर्तीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंका लागि जेरार्ड इरास्मसले चार ओभरमा २९ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै करण केसी, नाथन साउटर र दीपेश कँडेलको नाममा एक विकेट रह्यो ।
कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।
काठमाडौंले पहिलो ओभरमै ओपनर देवको विकेट लिँदै सान्दार सुरुआत गरेको थियो । पहिलो ओभरको तेस्रो बलमा ओपनर देव तीव्र गतिका बलर करणको बलमा एलबिडब्ल्युको शिकार बनेका थिए ।
त्यसपछि क्रिजमा आएका चाडविक वाल्टनले केही आक्रमक सट खेले । तर, चौथो ओभरको पाँचौं बलमा वाल्टन पनि पेभिलियन फर्किए । इरास्मसको बलमा उनी करणबाट मिड अफमा क्याच भएका थिए ।
नवौं ओभरको पहिलो बलमा स्पिनर दीपेश कँडेलले बाबर हायातलाई बोल्ड गर्दै काठमाडौंलाई तेस्रो सफलता दिलाए । हायातपछि आएका अलराउन्डर गुल्सनले धवनसँग ३० रनको साझेदारी गरे ।
१४औं ओभरको पाँचौं बलमा कर्णालीले चौथो विकेटको रुपमा गुल्सनलाई गुमायो । इरास्मसको बलमा गुल्सन विकेटकिपर स्टेफन इस्निाजीबाट स्टम्प आउट भए । लगत्तैको ओभरमा विकेटकिपर ब्याटर अर्जुन चार रन बनाउँदै पेभिलियन फर्किए । अर्जुन स्पिनर नाथन साउटरको बलमा बोल्ड भए ।
पाँचौं विकेट गुमेपछि धवन र जीसनको ६५ रनको साझेदारीमा कर्णालीले १४९ रनको योगफल तयार पार्यो । सुरुआती १० ओभर रक्षात्मक रणनीति अपनाएका धवन त्यसपछि आक्रमक देखिएका थिए ।