काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गुर्खाजका कप्तान करण केसीले जितको लक्ष्यलाई कायम राख्ने बताएका छन् ।
त्रिवि क्रिकेटमा मैदानमा बुधबार कर्णालीलाई ३ विकेटले निरास बनाउँदै काठमाडौंले प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो ।
कर्णालीविरुद्ध जित निकालेपछि करण भने, ‘ बलिङमा राम्रो सुरुआत गरे पनि अन्तिम ३४ ओभर राम्रो हुन सकेन । त्यसैले केही दाबाब भएको थियो । तर ब्याटिङमा भने राम्रो फिनिस गर्न सक्यौं । हामीलाई एउटा मुमेन्टम चाहिएको थियो आजको जितले त्यो प्रदान गरेको छ । केही गल्तीहरु भएका छन् त्यसलाई सुधार्दै हामी आगमी खेलमा यो मुमेन्टमलाई कायम राख्ने प्रयास गर्नेछौं ।’
कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले तीन बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गरेको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रनको योगदान दिए । कर्णालीका लागि कप्तान सोमपाल कामी, गुल्शनकुमार झा, जिसन मक्सुद, नन्दन यादव र विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि शिखर धवनले ५१ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ७२ रनको योगदान गरे । काठमाडौंंका लागि जेरहार्ड इरास्मसले दुई विकेट लिए ।
पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।