काठमाडौं । ओपनर शिखर धवनको अर्धशतकीय पारीप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १४९ रनको योगफल तयार पार्यो ।
धवनले ५१ बलमा चार चौका र पाँच छक्कासहित ७२ रनको पारी खेले । यसबाहेक चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाउँदा जीसन मक्सुदले ११ बलमा एक चौकासहित १४ रनको योगदान गरे । त्यस्तै बाबर हायातले १८ बलमा एक छक्कासहित १३ रन बनाउँदा गुल्सन झाले १९ बलमा एक चौकासहित १२ रन जोडे । देव खनाल र अर्जुन घर्तीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंका लागि जेरार्ड इरास्मसले चार ओभरमा २९ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै करण केसी, नाथन साउटर र दीपेश कँडेलको नाममा एक विकेट रह्यो ।
कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।
काठमाडौंले पहिलो ओभरमै ओपनर देवको विकेट लिँदै सान्दार सुरुआत गरेको थियो । पहिलो ओभरको तेस्रो बलमा ओपनर देव तीव्र गतिका बलर करण को बलमा एलबिडब्ल्युको शिकार बनेका थिए ।
त्यसपछि क्रिजमा आएका चाडविकले केही आक्रमक सट खेले । तर, चौथो ओभरको पाँचौं बलमा वाल्टन पनि पेभिलियन फर्किए । इरास्मसको बलमा उनी करणबाट मिड अफमा क्याच भएका थिए ।
नवौं ओभरको पहिलो बलमा स्पिनर दीपेश कँडेलले बाबर आयातलाई बोल्ड गर्दै काठमाडौंलाई तेस्रो सफलता दिलाए । हायातपछि आएका अलराउन्डर गुल्सनले धवनसँग ३० रनको साझेदारी गरे ।
१४औं ओभरको पाँचौं बलमा कर्णालीले चौथो विकेटको रुपमा गुल्सनलाई गुमायो । इरास्मसको बलमा गुल्सन विकेटकिपर स्टेफन इस्निाजीबाट स्टम्प आउट भए । लगत्तैको ओभरमा विकेटकिपर ब्याटर अर्जुन चार रन बनाउँदै पेभिलियन फर्किए । अर्जुन स्पिनर नाथन साउटरको बलमा बोल्ड भए ।
पाँचौं विकेट गुमेपछि धवन र जीसनको ६५ रनको साझेदारीमा कर्णालीले १४९ रनको योगफल तयार पार्यो । सुरुआती १० ओभर रक्षात्मक रणनीति अपनाएका धवन त्यसपछि आक्रमक देखिएका थिए ।
काठमाडौं र कर्णाली दुबै पहिलो जितको लक्ष्यमा छ ।