काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं आमने सामने हुँदैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
आफ्नो दोस्रो खेल खेल्दै गरेका दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए ।
जनकपुरविरुद्ध कर्णालीका कुनै पनि ब्याटर चल्न सकेका थिएनन् । टस जितेर ब्याटिङ रोजेको कर्णालीका लागि गुल्शनकुमार झले ३६ अर्जुन घतीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।
यसैगरी विदेशी खेलाडीमा शिखर धवनले धवनले १४, बाबर हायतले १२ र चाडविक बाल्टनले आठ रन बनाउँदा जिसन मक्सुदले खाता पनि खोल्न सकेनन् ।
आफ्नो पहिलो खेलमा पराजित भएपछि सोमपालले भनेका थिए, ‘मैले लिएको निर्णयमा त्यसमा कुनै पछुनो छैन । हाम्रो टोलीको ब्याटिङ लाइनअफ बलियो थियो । हामीले राम्रै लक्ष्य दिने सोचेका थियौं तर, त्यो भएन । १७० रनसम्मको लक्ष्य दिनु पर्थ्यो । आगामी खेलमा गल्तीलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’
यता काठमाडौं पनि पहिलो खेलमा ब्याटिङ कमजोर देखिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि सुमित महर्जनले २६, डच खेलाडी माइकल लेभिटले २५, इङ्ल्यान्डका डान डौथवेटले १९ र शंखर रानाले १६ रन बनाए ।
भीम सार्की, कप्तान करण केसी जस्ता आस गरिएका खेलाडी भने चल्लन सकेनन् ।
पहिलो खेलमा पराजित भएपछि करणले भनेका थिए, ‘हामीले राम्रो ब्याटिङ सुरुआत गरेका थियौं । तर त्यसलाई निरन्तरता दिन सकेनौं । पहिलो म्याच भएकाले विदेशी खेलाडीलाई पनि गाह्रो भयो । स्वदेशी खेलाडीबाट पनि सोचेअनुसारको प्रदर्शन हुन सकेन । खेलमा राम्रो पार्टनरसिप हुन नसक्दा हार ब्यहोर्न पुग्यौं । आज सानो सानो गल्ती भएको छ । त्यसलाई आगमी खेलमा सुधार गर्ने छौ ।’
दिउँसो १ बजे सुरु हुने दिनको दोस्रो खेलमा लुम्बिनी लयान्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।