काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को गर्भनिङ काउन्सिलका सदस्य सुदीप शर्माले एनपिएल प्रतियोगिता, क्रिकेटलाई स्वर्ण युगमा लैजाने बाटोका रुपमा रहेको व्याख्या गरेका छन् ।
यहि मंसिर १५ देखि आयोजना हुन लागेको एनपिएलको तयारी अवलोकनका क्रममा खेलाडी डटकमको टिमले शर्मालाई ‘खेलाडी अन दि स्पट’ कार्यक्रममा स्वागत गरेको थियो । उक्त कार्यक्रममा शर्माले एनपिएलको तयारी, माहोल र लक्ष्यका बारेमा जानकारी दिए ।
‘हामी प्रतियोगितालाई लिएर उत्साहित छौं । यसले भावि दिनमा क्रिकेटलाई नयाँ उचाइतिर लैजानेछ । हाम्रो लक्ष्य भनेको नेपाली क्रिकेटलाई विश्वव्यापी रुपमा लैजाने हो । यसका लागि एनपिएल एउटा अवसर हो,’ क्यानका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने, ‘एनपिएल नेपाली क्रिकेटलाई स्वर्ष युग लैजाने बाटो हो । क्यानले यसका लागि सक्दो प्रयास गरिरहेको छ ।’
एनपिएल भारतीय च्यानल स्टार स्पोर्ट्सबाट प्रसारण हुँदैछ । विदेशी च्यानलबाट प्रसारण भइरहँदा यसले नेपाली क्रिकेटको उचाइ थप विस्तार गर्ने शर्माको बुझाइ छ ।
‘हामी एनपिएललाई नेपाली खेलकुदकै सबैभन्दा उत्कृष्ट प्रतियोगिता बनाउने लक्ष्यमा छौं । विश्वव्यापी रुपमा नेपाली क्रिकेटलाई विस्तार गर्न क्यानले लगानी गरिरहेको छ,’ शर्माले भने, ‘क्यानले लगानी मात्र गरिरहेको छैन । अन्तर्राष्ट्रिय विशेषज्ञताबाट क्यानले धेरै कुरा सिकिरहेको पनि छ । यसले भावी दिनमा नेपाली क्रिकेट विकासमा टेवा पुग्नेछ ।’
क्यानको संयोजनमा दुई वर्षअघि नेपाल टी-२० लिगको अयोजना भएको थियो । भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्सको आयोजनामा भएको प्रतियोगितामा म्याच फिक्सिङका घटनाहरु बाहिरिएको थियो । जसका कारण प्रतियोगिता विवादित बन्दा क्यानले आयोजक कम्पनिसँग सम्झौता रद्द गरेको थियो ।
शर्मा यसपालि यस्तो कुनै पनि अवरोध र समस्याहरु नआउनेमा विश्वस्त छन् । उनी भन्छन्,‘विगतका दिनमा घटेका घटनाहरुबाट पाठ सिकेर अगाडि बढेका छौं । अहिले हामी युवा र अनुभवि टोली छौं । नयाँ र परिस्कृत ढंगले अगाडि गइरहेका छौं । यस्ता अवरोधका बारेमा सचेत छौं । एनपिएल पक्कै पनि क्लिन हुन्छ । हामी स्पिरिट अफ दि गेमलाई ध्यानमा राखेर प्रतियोगिताको सुखद समापन गर्नेछौं ।’
एनपिएललाई लिएर आम जनमानसमा एउटा प्रश्न उब्जिएको छ । त्यो हो, के करोडौंको लगानी भइरहँदा एनपिएलले स्थिरता कायम राख्न सक्छ ? शर्मा यसबारे यसो भन्छन्, ‘लगानीकर्ताहरु सबै व्यापारी पृष्ठभूमिबाट आएका हुन् । उनीहरु यसका बारेमा जानकार छन् । पक्कै पनि एनपिएल स्थिरताको बाटोमा छ । भारतीय लिग आइपिएलमा पनि सुरुआती दिनमा सबैले शंका गरेका थिए । तर, अहिले आइपिएल कुन स्थानमा छ, सबैलाई थाहा छ ।’
एनपिएल तीन सातासम्म चल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।