काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले सुदूरपश्चिमको माटोमा शक्ति रहेको बताएका छन् ।
आसन्न एनपिएलका लागि सोमबार त्रिवि क्रिकेट मैदानमा खेलाडी डटकमसँग टमाटाले सुदूरपश्चिम रोयल्सको क्रिकेट माहोललाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘हामीसँग अधिकांश खेलाडी सुदूरपश्चिम प्रदेशका छन् । त्यसैले पनि तालमेल मिलिरहेको छ,’ टमाटाले भने, ‘अवश्य पनि यो टोलीले सुदूरपश्चिमको माटोलाई न्याय गर्छ ।’
‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दा खुसी लागिरहेको छ । सुदूरपश्चिमको माटोमा शक्ति छ । सुदूरपश्चिमले ठूल–ठूला खलाडीलाई जन्म दिएको छ । यो खेलाडी उत्पादनको उर्वरभूमि हो,’ सुदूरपश्चिमका स्थानीय टमाटाले थपे ।
अलराउन्डर दीपेन्द्र सिंह ऐरि मार्की खेलाडी रहेको सुदूरपश्चिमले टोलीमा आफ्ना प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेका छन् । दीपेन्द्र आफैं सुदूरपश्चिमका हुन् । टोलीले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड अम्बासडरका रुपमा नियुक्त गरेको छ । विष्ट पनि सुदूरपश्चिमका हुन् ।
त्यस्तै टमाटाले ट्वान्टी २० खेलमा नतिजाको अनुमान गर्न गाह्रो हुने पनि बताए । उनले अनपेक्षित नतिजा आउन सक्ने प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको प्रतिक्रिया दिए ।
‘टोलीमा जुनियर, सिनियर र विदेशी खेलाडीको तालमेल छ । त्यसैले मैदानमा राम्रो प्रदर्शन गर्नेमा आशा राखेको छु,’ टमाटाले भने, ‘तर यो भनिरहँदा ट्वान्टी २० मा एउटा ओभरले पनि नतिजामा फरक पार्न सक्छ । हामी त्यसका लागि तयार रहनुपर्छ । सहभागि सबै टोली बलिया छन् ।’
सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुलेन, इङ्ल्यान्डका सेइफ जयब, न्युजिल्यान्डका स्कट कुगुलेजीन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ ।
ब्याट्सम्यान आरिफ सेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन् । सुदूरपश्चिमको आइकनिक खेलाडीमा बसन्त खत्री छन् ।
सुदूरपश्चिमले मंसिर १८ गते विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।