काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ ।
जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।
यता दोस्रो पराजय ब्यहोरेको थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ । यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो ।
युएईको द सेभेन रंगशालामा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै समेटियो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतोले एक विमेट लिए ।
त्यसअघि जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।
पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरेका थिए । थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए ।
अब नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।