काठमाडौं । सान प्रविनको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डसामू १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ राेजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पार्यो ।
नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।
पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरे । थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए ।
नेपाल थाइल्यान्डविरुद्ध लगातार दोस्रो जितको लक्ष्यमा । पछिल्लाे भेटमा नेपालले ६७ रनको सहज जित निकालेको थियो ।
यसैगरी कुवेतलाई १०८ रनले हराएकाे नेपालले घरेलु टाेली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।
थाइल्यान्ड पनि लगातार दोस्रो जितको लक्ष्य छ । यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो ।