काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरेन्टो नेशनल्सले ग्लोबल ट्वान्टी-२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्ससँग सात विकेटको फराकिलो हार ब्यहोरेको छ ।
जितसँगै ६ खेलमा नौ अंक जोडेको मोन्ट्रियल शीर्षस्थानमा उक्लिएको छ । पराजित टोरेन्टो समान खेलबाट सात अंकका साथ चौथो स्थानमा छ ।
सिएए सेन्टर मैदानमा सोमबार टोरेन्टोले प्रस्तुत गरेको ५३ रनको लक्ष्य मोन्ट्रियलले ११.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । मोन्ट्रियलका लागि कप्तान टिम सिफर्टले अविजित १५ र दिलप्रित बाज्वाले १२ रन बनाए ।
टोरेन्टोका लागि जेसन बेहरेनडोर्फ, जितेन्द्रपाल मथरु र जुनैद सिद्धिकीले समान एक विकेट लिए ।
कलिमले ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त चन्द, छैटौं बलमा रोस्टन चेज र चौथो ओभरको पहिलो बलमा मोहम्मद नवाजलाई आउट गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको टोरेन्टोले ११.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनको योगफल तयार पारेको थियो ।
टोरेन्टोका लागि जितेन्द्रपाल मथरुले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोहित भने बेन्चमा रहेका थिए ।
मोन्ट्रियलका लागि कलिम सानाले चार, अज्मतुल्लाह ओमरजाइले तीन तथा कोर्बिन बोशले दुई र आयन अफ्जल खानले एक विकेट लिए ।