काठमाडौं । पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड २३ रनले विजयी भएको छ ।
जितसँगै इङ्ल्यान्डले चार खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाकाका कारण रद्द भएको थियो ।
एजब्यास्टन क्रिकेट मैदानमा शनिबार इङ्ल्यान्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १६० रनमै समेटियो ।
पाकिस्तानका लागि फखर जमानले ४५, कप्तान बाबर आजमले ३२, इफ्तिखर अहमदले २३, इमाद वासिमले २२ र आजम खानले ११ रन बनाए ।
तेस्रो विकेटका लागि फखर र बाबरले ५३ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि रिस टोप्लीले तीन, मोइन अली र जोफ्रा आर्चरले समान दुई तथा क्रिस जोर्डन, आदिल राशिद र लियम लिभिङस्टोनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले ५१ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८४ रन बनाए । यसैगरी विल ज्याक्सले ३७, जोनी बेयरिस्टोले २१, फिल साल्टले १३ र जोफ्रा आर्चरले अविजित १२ रन बनाए ।
दोस्रो विकेटका लागि जोस र विलले ७१ रनको साझेदारी गरे । पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले तीन तथा वासिम अहमद र हरिस रौफले समान दुई विकेट लिए ।
शृंखलाको तेस्रो खेल मंगलबार हुनेछ ।