काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकका भिड्दै छन् ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
अस्ट्रेलिया उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अपराजित रहँदै समूह ‘ए’ बाट विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलिया जितको लयलाई कायम राख्ने सोचमा छ ।
एलिस हेलीको कप्तानीमा रहेको अस्ट्रेलियालाई एस्लेघ गार्डनर, एलिस पेरी, एनाबेल सदरल्यान्ड जस्ता खेलाडीले साथ दिने छन् ।
यता दक्षिण अफ्रिका पनि गत संस्करणको फाइनलमा ब्यहोरेको हारको बदला लिने सोचमा छ । दक्षिण अफ्रिका तीन जित र एक हारको नतिजासहित समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
लोरा उल्भर्डटको कप्तानीमा रहेको दक्षिण अफ्रिका म्यारिजेन काप, एबोङ्गा खाका, सुने लुस जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
यी दुईबीच भएको पछिल्ला पाँच खेलमा अस्ट्रेलिया चार र दक्षिण अफ्रिका एक खेलमा विजयी भएका छन् ।