काठमाडौं । ग्रेट हिमालयन क्रिकेट क्लबमाथि १ सय ३७ रनको फराकिलो जित निकाल्दै महावीर क्लब प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटको च्याम्पियन बनेको छ ।
मुलपानी क्रिकेट मैदान (तल्लो) मा बुधबार महावीरले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन ३२ ओभरमा १ सय ४७ रनमै समेटियो ।
ग्रेट हिमालयनका लागि कप्तान इशान पाण्डेले ६६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी सुविन हाडाले ३० र दीपक केवतले १९ रन बनाए ।
महावीरका लागि हिमाल चन्द, सार्थक धिताल र योगेश पाठकले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महावीरले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ८४ रनको योगफल तयार पारेको थियो।
महावरीका लागि विभत्सु थापाले १ सय २२ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे। यसैगरी सार्थक धिलालले ४०, राकेशकुमार कर्णले ३८, रविन जोशीले २७ , योगेश पाठकले अविजित २५, ज्योति भण्डारीले अविजित १५ र उथन्त लामाले १३ रन बनाए ।
विभत्सुले दोस्रो विकेटका लागि राकेशसँग ६४ रनको साझेदारी गरे । ग्रेट हिमालयनका लागि इशान पाण्डे र दर्शिल विष्टले समान दुई तथा किरण बुढा मगर र देवानन्द पासवानले समान एक विकेट लिए ।
महावीरका विभत्सु थापा ‘प्लेयर अफ द फाइनल’, ग्रेट हिमालयनका इशान पाण्डे प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, क्रिकेट एक्सिलेन्सका मनोज यादव उत्कृष्ट बलर, न्यु भिजनका हरि चौहान उत्कृष्ट ब्याटर घोषित भए ।
प्रतियोगितामा १२ टोलीले भाग लिएका थिए । जसमा चार समूहका शीर्ष टोली सेमिफाइनल पुगेका थिए।