काठमाडौं । विश्व महिला टेनिसकी हस्ती भेनस विलियम्सले आन्द्रिया प्रेटीसँग बिवाह गरेको मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।
फ्लोरिडाको पाम बिचमा बिवाहको पाँच दिने उत्सव मनाइरहेका विलियम्स र प्रेटी श्रीमान–श्रीमतीको नयाँ सम्बन्धमा प्रवेश गरेको भेनसले इन्स्टाग्राममा लेखेकी छिन् । भेनस र आन्द्रिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
जुलाईमा ४५ वर्षको उमेरमा डिसी ओपन जित्दै टुर स्तरको एकल खेल जित्ने दोस्रो पाको खेलाडीको कीर्तिमान बनाउँदा स्ट्यान्डमा बसेर साथ दिएका प्रेमी आन्द्रियालाई भेनसले धन्यवाद दिएकी थिइन । समाचार स्रोतहरुका अनुसार भेनसका श्रीमान आन्द्रिया डेनमार्कमा जन्मिएका इटालियन मोडल तथा कलाकार हुन् ।
वासिङटनमा भएको डिसी ओपन खेल्नुअघि उनले १६ महिनासम्म कुनै पनि प्रतियोगिता खेलेकी थिइनन् । सात पटक ग्राण्ड स्लाम एकल जितेकी भेनसले अझै पनि आफ्नो व्यावसायिक टेनिस करियरलाई निरन्तरता दिइरहने योजना बनाएकी छिन् ।
उनले जनवरीमा अकल्यान्डबाट सुरु हुने डब्लुटिए टुरमा सहभागिता जनाउने निर्णय गरिसकेकी छिन् । यो उनको डब्लुटिए टुरमा लगातार ३३ औं सिजन हुनेछ ।
