फाल्गुन २५, २०८२ सोमबार | १२:३१:१९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा
शनिबारको दिन

ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

मुम्बई । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको ट्वान्टी–२० विश्वकपले एउटा तथ्य थप प्रमाणित गरेको छ, यहाँ एसोसिएट देशबाट टेस्ट मान्यताप्राप्त राष्ट्र सुरक्षित छैनन् ।

गत शुक्रबारमात्रै पाकिस्तानलाई नेदरल्यान्ड्सले सात्तो नै लियो । त्यसको दुई दिनपछि नै नेपाल र इङ्ल्यान्डबीचको खेल त्यस्तै भयो । अन्तिम बलमा पुगेर मात्रै नेपाललाई पराजित गर्न सफल भयो दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्ड ।

त्यस्तै, उद्घाटन दिन नै भारतलाई अमेरिकाले पनि हम्मेहम्मे पारेको थियो । भारतले सुरुको ६ विकेट लगातार गुमायो । वाङ्खडे रंगशालामा उपस्थित २८ हजार घरेलु समर्थक स्तब्ध जस्तै रहे । कप्तान सूर्यकुमार यादवको इनिङ्सपछि भारत तंग्रियो ।

यो त भयो यस विश्वकपको नतिजा । गत वर्षको विश्वकपमा पनि यस्तै नतिजा निस्किएको थियो । आयोजक अमेरिका त पहिलो अवसरमै सेमिफाइनल पुग्न सफल भयो । उसले समूह चरणको खेलमा पाकिस्तान जस्तो पूर्व विजेतालाई हराएर सनसनी मच्चाएको थियो ।

के साँच्चै एसोसिएट राष्ट्र बलियो भएका हुन् ? के अब एसोसिएटबाट टेस्ट राष्ट्र सुरक्षित छैनन् त ? इङ्ल्यान्डका अलराउन्डर विल ज्याक्स अब एसोसिएट राष्ट्रलाई कमजोर आँक्न नमिल्ने बताउँछन् ।

‘साँच्चै नेपालले हामीलाई निकै दबाबमा राख्यो । नेपालमात्रै हैन, यो विश्वकपमा सबै २० टिम नै बलिया छन्,’ उनले भनेका छन्, ‘कुन खेलमा कुन टिम पल्टिन्छ थाहा हुन्न ।’

यस्तो नतिजा दुई संस्करणमा मात्रै भएका हैनन्, सन् २००९ देखि नै निरन्तर यस्ता नतिजा निस्किरहेका छन् । त्यो समय एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले इङ्ल्यान्डलाई घरमै हराएको थियो । टेस्ट राष्ट्रविरुद्ध एसोसिएटले निकालेको यो नै पहिलो जित हो ।

सन् २०१६ मा अफगानिस्तानले वेस्ट इन्डिजलाई हरायो । सन् २०२२ मा नामिबियाले पनि श्रीलंकामाथि जित निकालेको थियो । यही विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डलाई हरायो । यता, पहिलो पटक विश्वकपलाई छनोट भएको इटालीले युरोपियन छनोटमा नै आयरल्यान्डमाथि कीर्तिमानी जित निकालेको थियो ।

भारतका कप्तान सूर्यकुमारले त विश्वकप अघिको ‘क्याप्टेन्स मिट’ मै २० टिमलाई नै कम आँक्न नहुने तर्क गरेका थिए । ‘विश्वकपमा सहभागी २० टिम नै उस्तै छन् । कुनै पनि टिम कमजोर छैनन्,’ उनले हाँस्दै भनेका थिए, ‘पछिल्ला दिनहरूमा एसोसिएट राष्ट्रहरूले पनि राम्रो गरिरहेका छन् ।’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले १२ टिमलाई पूर्ण सदस्य अर्थात टेस्ट राष्ट्रको मान्यता दिएका छन् । उनीहरू हरेक जसो ट्वान्टी–२० विश्वकप होस् या एकदिवसीय विश्वकप नियमित खेलिरहेका छन् । सुपर एटमा पुगेको टिम स्वतः अर्को विश्वकपमा पुग्ने नियम हुँदा एसोसिएट राष्ट्रले विश्वकप खेल्न सधैं छनोट चरणको बाटो तय गर्नुपर्छ । तर, पूर्ण सदस्यहरूले भने कमैमात्र छनोट खेलेका छन् ।

ट्वान्टी–२० विश्वकपमा एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रलाई चुनौती दिँदै आए पनि एकदिवसीयमा भने यस्तो हुन सकेको छैन । टेस्ट भने टेस्ट मान्यताप्राप्त राष्ट्रले मात्रै खेल्न पाउँछन् ।

ठूलो प्रतियोगितामा मात्रै एसोसिएट राष्ट्रको भेट टेस्ट राष्ट्रसँग हुने गरेको छ । अब यो क्रम तोडिनुपर्ने वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीको ठम्याइ छ ।

‘हामी टेस्ट राष्ट्रले क्रिकेटलाई बचाउने हो भने विश्वभर पु¥याउन मद्दत गर्नुपर्छ,’ उनले भनेका छन्, ‘हामीले त्यसको जिम्मेवारी लिनुपर्छ र एसोसिएट राष्ट्रसँग धेरैभन्दा धेरै खेल खेल्नुपर्छ ।’

नेपाल सनसनीपूर्ण खेलमा इङ्ल्यान्डसँग पराजित भएपछि उनको यस्तो प्रतिक्रिया आएको थियो ।

नेपाली खेलाडी नन्दन यादव भने अझै पनि टेस्ट र एसोसिएट राष्ट्रबीच तुलना गर्न नमिल्ने बताउँछन् । ‘हामीले अहिले नै टेस्ट राष्ट्रलाई हराउने सपना देखिरहेका छैनौं । त्यसको लागि अझै अनुभव बढाउनुपर्छ,’ उनले भने, ‘धेरैभन्दा धेरै टेस्ट राष्ट्रसँग खेल्न पायौं भने मात्रै एसोसिएट राष्ट्रले माथिल्लो स्तरका टिमलाई हराउन सक्छन् ।’