सातदोबाटो । प्रदीप खड्का र अभिलाषा विष्टले सबवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । प्रदीपले पुरुष तथा अभिलाषले महिला सिंगल्समको उपाधि जिते ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६-०, ६-३ ले सहजै पराजित गरे ।
महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६-१,६-१ को सोझो सजिलै हराइन् ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले च्याम्पियन बने । उनले फाइनलमा सन्तोष खत्रीलाई सीधा सेटमा ६-२, ६-१ ले हराए ।
हिमाल मिडियाद्वारा आयोजित प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
कमल थापा ५५ र ६५ वर्षमाथि पुरुष सिंगल्समा च्याम्पियन बने । चन्द्र शाहीले पनि पुरुष डबल्समा २ स्वर्ण जिते । उनले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासँग मिलेर स्वर्ण पदक हात पारे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भए ।
त्यस्तै ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दिक्षित, ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा १३९ खेलाडी सहभागी थिए ।