चैत्र ३, २०८२ मंगलबार | ०८:५८:४०
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

अब पुरानो ढंगले नेपालको भलिबल चल्न सक्दैन

नेपालमा पछिल्लो समय भलिबल भन्नेबित्तिकै धेरैको मस्तिष्कमा महिला भलिबल नै आउँछ । कारण, पछिल्लो समय नेपालमा महिला भलिबल धेरै चलायमान भइरहेको छ । महिला खेलाडीहरू वर्षभर व्यस्त रहन्छन् । महिला भलिबल यति धेरै लोकप्रिय बन्नु पछाडि एक व्यक्तिको भूमिका पनि महत्वपूर्ण छ । ती व्यक्तिको नाम हो, निरोज मास्के । पछिल्लो समय उनले महिला भलिबल विकासमा गरेको योगदान अतुलनीय छ । 

नेपाली भलिबलमा मास्के पहिलो महिला कोषाध्यक्ष बनिन् । अहिले उपाध्यक्षको जिम्मेवारीमा छिन् । नेपालमा पहिलो पटक महिला बिच भलिबल गराउने श्रेय पनि उनैलाई जान्छ । नेपालमा खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन गर्ने कमै मान्छे भेटिन्छन् । अझै पदाधिकारीहरू भेट्न त झनै मुस्किल छ । तर मास्के खेलाडीलाई प्रोत्साहन गर्ने कार्यमा अग्रपंक्तिमै रहिन् । सञ्जय स्मृति फाउन्डेसनमार्फत उनले हरेक वर्ष भलिबलका उत्कृष्ट महिला र पुरूष खेलाडीलाई सम्मान गर्दै आएकी छन् । 

पाल्पा तानसेनकी मास्के आफैं पनि भलिबल खेलाडी थिइन् । तर, उनले राष्ट्रियस्तरमा आफूलाई स्थापित गर्न भने सकिनन् । खेलाडीका रूपमा नभए पनि व्यवस्थापक भएर उनले आफूलाई भलिबलको केन्द्रभागमा स्थापित गरिरहेकी छन् । त्यसका लागि उनले धेरै संघर्ष गर्नुपरेको छ । त्यसैले अब हुने नेपाल भलिबल संंघको चुनावमा मास्के अध्यक्षको प्रत्याशी पनि हुन् । 

आगामी चुनावका लागि अध्यक्ष पदमा उम्मेदवार भएर अगाडि बढ्दै गरेकी मास्केसँग नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको वर्तमान अवस्था, हालै घोषित फ्रेन्चाइज लिग भलिबल (एनएसएल), संघका प्रतियोगिता, कार्यक्रमलगायत विषयमा खेलाडीडटकमका लागि गीता राईले गरेको कुराकानीको सम्पादिन अंश :

देशको खेल प्रादेशिक संरचनामा गइसके पनि भलिबल संघ भने अझै पुरानै संरचनामा चलिरहेको छ । यसलाई परिवर्तन गर्नुपर्दैन ?

हो, अहिलेसम्म हामी पुरानै संरचनामा छौं । तर भलिबलमा केही परिवर्तन नभएको भने होइन । विस्तारै परिवर्तन भइरहेको छ । सबैभन्दा पहिला हामी सांगठनिकभन्दा पनि प्राविधिक र ‘अन कोर्ट’ परिवर्तनमा केन्द्रित भइरहेका छौं । 

त्यसैको फलस्वरूप अहिले लिग भइरहेको छ । नेपाली भलिबलमा पहिलो पटक फ्रेन्चाइज लिग प्रतियोगिता हुन लागेको छ । भलिबलमा हुन थालेका यस्ता गतिविधिका कारण पूर्वाधार बन्ने अवस्था आउँछ र नयाँ खेलाडी आउने बाटोहरू पनि अझ बलियो हुँदै छन् । 

यी सबका बाबजुद भलिबल पुरानो ढंगले चलिरहेको कुरा साँचो हो । अब पुरानो ढंगले नेपालको भलिबल चल्न सक्दैन । नयाँ सोच र नयाँ तरिकाले नै भलिबल माथि जान्छ । 

नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइज लिग हुँदै छ । लामो समयदेखि भलिबलको प्रतियोगितामा सहभागी भएका पुराना क्लबको भूमिका के हुन्छ ? विशेषतः खेलाडी उत्पादन गर्ने क्लबहरू निरूत्साहित हुने त हैनन् ?

पुराना क्लबहरूले पनि खेल्न नपाउने होइन । पुराना क्लबका लागि खेल्ने छुट्टै प्रतियोगिताहरू छन् । त्यसलाई अझ बढाउँदै लैजानुपर्छ । साथमा फ्रेन्चाइज लिग पनि हुँदा झन् पुराना क्लबलाई फाइदा पुग्छ । 

फ्रेन्चाइज टिमहरूले पनि खेलाडी किन्ने तिनै पुराना क्लबबाट हो । फ्रेन्चाइज लिग सकिएपछि सबै खेलाडी फेरि आफ्नै क्लबमा फर्किने हुन् । 

फ्रेन्चाइज लिगका कारण त सबै क्लबका खेलाडीहरूले झन् राम्रो ‘लेभल’मा खेलेर थप सिक्ने मौका पाउँछन् । त्यसको फाइदा त क्लबलाई नै पुग्ने हो नि । फ्रेन्चाइज प्रतियोगिताकै कारण विदेशबाट ल्याइएका स्तरीय खेलाडीसँग एउटै टिममा रहेर अभ्यास गर्न पाउँदा र त्यस्ता खेलाडीविरुद्धमा खेल्दा पनि हाम्रा खेलाडीलाई झन् फाइदा पुग्छ । 

क्लबसँगै यसबाट खेलाडी र प्रशिक्षकलाई पनि प्रत्यक्ष रूपमा फाइदा हुन्छ । खेलाडीले राम्रो मूल्यमा स्तरीय प्रतियोगिता खेल्न पाउँछन् । प्रदर्शनका आधारमा खेलाडीको ग्रेड छुट्याइन्छ र त्यसपछि उनीहरूको अक्सन हुन्छ । प्रशिक्षकले पनि फ्रेन्चाइज प्रतियोगितामा आकर्षक पारिश्रमिकमा काम गर्ने मौका पाउँछन् । 

फ्रेन्चाइज प्रतियोगिताले यतिमात्र नभई समग्र भलिबललाई फाइदा पुग्छ । व्यावसायिक प्रतिष्ठान, सरकारी उच्च ओहदामा रहेका नीति निर्माता र आमजनताको बीचमा भलिबललाई फ्रेन्चाइज प्रतियोगिताले आकर्षक रूपमा पुर्‍याउने काम गर्छ । त्यसले भोलिका दिनमा भलिबलमा लगानी आउने सम्भावना रहन्छ । भौतिक पूर्वाधार विकासमा पनि सहयोग मिल्न सक्छ ।

फ्रेन्चाइज लिग भइरहँदा नयाँ प्रतिभा उत्पादन हुने च्याम्पियनसिप र लिगको अस्तित्व संकटमा पर्दैन र ?

फ्रेन्चाइज लिगले गर्दा भइरहेका लिग तथा च्याम्पियनसिपलाई झन् फाइदा हुन्छ । यो त हाम्रो लागि प्लस प्वाइन्ट हो नि । लिगबाट धेरै खेलाडी उत्पादन हुन्छन् । अब फ्रेन्चाइजले गर्दा पनि खेलाडी उत्पादन हुने भए । लिग र अन्य स्थानीय स्तरमा भएका प्रतियोगिताबाट उत्पादन भएका प्रतिभावान खेलाडीले देशभित्रै स्तरीय प्रतियोगिता खेल्ने प्लेटफर्म पाउने छन् । 

नेपाली भलिबललाई समग्र रूपमा अगाडि बढाउनका लागि हामीले धेरै अघिदेखि फ्रेन्चाइज प्रतियोगिता गर्ने सोच बनाएका थियौं । अहिले देशकै प्रतिष्ठित र ठूलो व्यावसायिक घरानाहरूको नेतृत्वमा हुन लागेको छ । यो नेपाली भलिबलमात्र नभई पूरा नेपाली खेलकुदकै लागि खुसीको कुरा हो । 

फ्रेन्चाइज लिग (एनएसएल) मा विदेशी खेलाडीहरू पनि आउने हुँदा हाम्रा खेलाडीहरूले पनि केही सिक्ने मौका पाउँछन् । यसले गर्दा हामीलाई अर्काे संस्करण झन् राम्रो हुन्छ जस्तो लाग्छ । 

नेपालको राष्ट्रिय खेल भलिबल हो । तर, विडम्बना नै भन्नुपर्छ, संघले एउटा राष्ट्रिय स्तरको कर्भडहल बनाउनसमेत भूमिका खेलेको छैन ? किन ?

हामीसँग कभर्डहल छैन । सत्य यही हो । तर यसका लागि हामीले केही नगरेको भन्ने चाहिँ होइन । हामी लामो समयदेखि कम्तीमा एउटा स्तरीय कभर्डहल बनाउने प्रयासमा लागिपरेका छौं । 

भलिबल नेपालको राष्ट्रिय खेल पनि भएकाले सरकार, विभिन्न प्रायोजक तथा स्थानीय र प्रदेश सरकारहरूसँग पनि सकारात्मक ढंगमा कुरा भइरहेको छ । आउँदो एक÷दुई वर्षभित्र एउटा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बन्ने सम्भावना धेरै छ । 

कभर्डहल बनाउन सबै कुरा लगभग तयारी अवस्थामा छन् । तर, कानुनी प्रक्रिया चलिरहेको छ । पूर्वाधारबिनाको खेल कसरी सम्भव होला र ? तैपनि हामीले जेनतेन चलाइरहेका छौं । 

सबै जिल्ला संघ भएको नेपालको एकमात्र खेल भलिबल हो । तर, त्यसको सहभागिता निर्वाचनको समयमा मात्र देखिन्छ । खेलाडी उत्पादन भने किन हुन सकेको छैन ?

त्यो दुवै खालको कुरा हो । जिल्लाहरू जति सक्रिय हुनुपर्ने हो, छैनन् । भलिबल सघंले मात्र हेर्न सक्दैनौं । अब राम्रो हुन्छ, किनकि हामी प्रदेशबाट नै गइरहेका छौं । 

जिल्लाहरूलाई प्रदेशले हेर्छ । केन्द्रबाट सबैलाई हेर्न, ध्यान दिन गाह्रो हुन्छ । कतिपय ठाउँमा हामीले चाहेर पनि केही गर्न सकिरहेको अवस्था छैन । कतिपय ठाउँबाट चुनावमा मात्र आउनुहुन्छ । अब समय सँगै त्यो सबै नराम्रो पक्षहरू हटेर जान्छन् । हामीले सबै जिल्लालाई सक्रिय बनाउने सोच बनाएका छौं । 

अहिले सबैको कार्यकाल सकिएको छ । नयाँ कार्यसमिति आएपछि योजना बनाएर काम गर्नेछौं । 

तपाईंहरू निर्वाचन आउँदा मात्र सक्रिय देखिनुहुन्छ । तर, निर्वाचित भइसकेपछि कता हराएजस्तै महसुस हुँदैन ? निर्वाचनताकाका आफ्नै प्रतिबद्धता र योजनाबाट किन विचलित हुनुहुन्छ ?

निर्वाचनमा आउनुअघि जे भन्नुभएको थियो, प्रायः सबैले गर्नुभएको छ । निर्वाचनमा गरेका वाचा पूरा गर्ने प्रयासमा धेरै साथी लागिरहेका छन् । कोहीले निर्वाचित भएपछि वाचा बिर्सिए होलान् । त्यसले समग्र भलिबल संघमाथि दोष लगाउन मिल्दैन । 

तपाईं आफैं पनि भलिबल संघको आगामी नेतृत्वमा दाबेदारी गर्दै हुनुहुन्छ । के-कस्ता योजना छन् ?

भलिबललाई अगाडि बढाउने सन्दर्भमा, भलिबल विकासको सन्दर्भमा, खेलाडी, प्रशिक्षक र निर्णायकहरूलाई माथि उकास्ने सन्दर्भमा, भौतिक पूर्वाधारहरू बनाउने सन्दर्भमा, नयाँ प्रतिभा पहिचान गर्ने सन्दर्भमा, पूरा देशलाई नै भलिबलमय बनाउने सन्दर्भमा मसँग धेरै योजना छन् । मसँग भन्दा पनि हाम्रा साथीहरूको समूहसँग धेरै योजना र सोच छ । 

तर, अहिल्यै तिनलाई सार्वजनिक गर्ने कुरामा हतार नगरौं । चुनावको मिति तय भइसकेको छैन । हामी जहिले चुनाव भए पनि, जुनसुकै पदमा उम्मेदवारी दिए पनि या उम्मेदवारी नै नदिए पनि भलिबल विकासप्रति योजनासाथ अघि बढ्नेछौं । नेपाली भलिबललाई माथि उकास्ने दृढ संकल्पबाट पछि हट्ने छैनौं । 

अझै पनि केन्द्रीकृत संरचनामा नै भलिबल संघ रहन्छ या प्रदेशलाई पनि सक्रिय बनाउन पहल गर्नुहुन्छ ?

मेरो तर्फबाट शतप्रतिशत दिन्छु । हामी केन्द्रमा मात्र सीमित हुँदैनौं । भलिबललाई प्रदेशमा पनि सक्रिय बनाउने छौं । खासमा संघले प्रदेशमार्फत जिल्लालाई हेर्ने हो अनि विकासका कार्यक्रमहरू स्थानीय तहबाटै सञ्चालन हुन्छन् । स्थानीय तहबाट जिल्ला, जिल्लाबाट प्रदेश हुँदै केन्द्रसम्मको प्रशासनिक र प्राविधिक संरचनाको विकास गरिनेछ ।

राष्ट्रिय खेल भलिबललाई माथि लैजान हामी सबै सक्रिय भएर जुट्ने छौं । भलिबललाई कसरी राम्रो बनाउने भन्नेतर्फ मात्रै हाम्रो ध्यान केन्द्रित हुनेछ । 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने