काठमाडौं । सन् २०१० देखि नै हामीले बंगलादेशलाई साफ महिला च्याम्पियनसिपमा हराउँदै आएका छौं । गत वर्ष दशरथ रंगशालामै हामीले उनीहरुसँग दुई वटा मैत्रीपूर्ण खेल पनि खेलेका थियौं । त्यसमध्ये एकमा जित र एकमा बराबरी खेलेका थियौं ।
उनीहरुविरुद्ध हाम्रो इतिहास राम्रो भए पनि बंगलादेश सधै राम्रो टिम हो । हामीले सधै जितिरहने भएकाले मानसिक रुपमा नै जित्छौं भन्ने सोच हुन्छ । खेलाडीमा बेग्लै खालको आत्मविश्वास हुन्छ । तर, अहिलेको बंगलादेश र पहिलाको बंगलादेशमा धेरै फरक छ ।
अहिले उनीहरु धेरै राम्रो भएर साफ च्याम्पियनसिप खेल्न काठमाडौं आएका छन् । यही प्रतियोगितामा पनि बंगलादेशले जुन किसिमको प्रदर्शन गरेको छ । त्यसले गर्दा हामीले कमजोर लिनु हुँदैन । बंगलादेशले भारतलाई तीन गोल गरेको छ । हामीले एक गोल मात्र गरेर फाइनल पुगेका हौं ।
|
जारी प्रतियोगितामा अहिलेसम्म नेपालको यात्रा सुखद रहेको छ । फाइनलमा खेल्नुपर्ला भनेको भारतसँग सेमिफाइनलमा नै भिडिसक्यौं । साफ च्याम्पियनसिपमा अहिलेसम्म हामी सधै भारतसँग नै हार्दै आएका थियौं । भारतविरुद्ध लगातारका हारले हामीलाई मानसिक रुपमा पनि निक्कै कमजोर बनाएको थियो । भारतसँग खेल्ने भन्नेवित्तिकै बेग्लै दबाब हुने गर्थ्यो ।
यसपाली कथा फरक रहयो । भारतसँगको सेमिफाइनलमा डेंगी लागेका कारण नेपाली टिमकी सबभन्दा महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी थिइनन् । उनी नहुँदा फेरि पनि हारिएला भन्ने चिन्ता थियो । तर केटीहरुले त्यो सब चिन्तालाई पन्छाएर पूर्ण आत्मविश्वासका साथ निडर भएर खेले । घरेलु मैदानमा ठूलो संख्यामा आएका आफ्नै समर्थकको साथ पनि टिमलाई थियो । आफ्ना समर्थकसामू सकेसम्मको मेहनत गर्नुपर्छ, सधै हारिरहेको विपक्षीविरुद्ध डटेर खेल्यो भने नयाँ इतिहास रचिन्छ जस्ता भावनाले टिमलाई प्रेरित गर्यो ।
भारतलाई साफ च्याम्पियनसिपमा हराउन हामीले १२ वर्षसम्म प्रतिक्षा गर्नुपर्यो । यो ऐतिहासिक उपलब्धि हासिल गर्नका लागि हामीले घरेलु मैदानको साथ पनि लिनुपर्यो । समग्रमा हाम्रो खेल राम्रो थियो । तर, अझै पनि सुधार आवश्यक छ । टिममा नयाँ खेलाडीहरु छन् । नयाँ सेट तयार हुँदैछ । अझै पनि नेपाली टिममा अनुभवको कमी छ । यस्ता कुराहरुमा ध्यान पुर्याउनु जरुरी छ ।
भारतविरुद्धको सेमिफाइनलमा वर्षात र हिलोको कारण पनि नतिजा नेपालको पक्षमा आएको भन्ने विश्लेषणहरु सुनिएका छन् । तर, सबैकुरा मैदानमा भर हुँदैन । खास कुरा चाँही मैदानअनुसार हामीले खेल्नुपर्छ । पानी पर्दा, घाम लाग्दा कसरी खेल्ने भन्ने कुरा खेलाडीमा भर पर्छ । कुनै कुरा खेलाडी आफैले पनि ‘अन दी स्पट’ निर्णय लिनुपर्छ । त्यसको लागि प्रशिक्षक हुनुहुन्छ । विपक्षीको बारेमा अध्ययन गर्नुपर्छ ।
|
नेपाली टिमले अनुभव बटुल्ने मौका पाइरहेको छैन । प्रतियोगिता भइरहेको छैन । खेलाडीले एउटा टिमको रुपमा रहेर सँगै प्रशिक्षण गर्न पाइरहेका छैनन् । त्यस्तो दयनीय अवस्थामा पनि यत्तिको सफल नतिजा निस्किदा राम्रो मान्नुपर्छ । सिनियर टिमको राम्रो पक्ष भनेको सबै खेलाडी तीन विभाग (त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब)का छन् । विभागले सधैभरी प्रशिक्षण गरिरहेको हुन्छ । एकै ठाउँमा प्रशिक्षण गर्न नपाए पनि उनीहरुले आ–आफ्नै विभागमा प्रशिक्षण गरिरहेका छन् ।
बंगलादेशको टिम प्राविधिक रुपमा एकदमै राम्रो र छरितो छ । त्यसैले नेपालले एकदमै सम्हालिएर खेल्नुपर्छ । परिस्थितिअनुसार उनीहरुको खेल अध्ययन गरेर रणनीति फेरिरहनुपर्छ । फाइनलमा नेपालले कसकसलाई मैदान उतार्छ भन्नेमा पनि प्रदर्शन केही हदसम्म निर्भर रहन्छ । सावित्रा भइन भने खेलको अवस्था नै अर्कै हुन सक्छ । पक्कै पनि खेलाडीको क्षमताअनुसार फरक रणनीति हुन्छ होला । फाइनलमा नेपाल सुरुआतमै आक्रमणमा जानु हुँदैन । त्यसअघि उनीहरुको खेललाई अध्ययन गर्ने र त्यहींअनुसार रणनीति बनाउँदै जानुपर्छ ।
जित्नै नसक्ने भन्ने केही छैन । खेलाडीबीच बढि भन्दा बढि कम्युनिकेसन हुनुपर्छ र पाएको मौकालाई सदुपयोग गर्नुपर्छ । भारतसँगको खेलमा नेपालले अझ धेरै गोल गर्न सक्थ्यो । तर, भएन । मौका खेर जानु दिनु हुँदैन । सँगै रक्षापंक्तिमा पनि उत्तिकै ध्यान दिनुपर्छ । सेमिफाइनलमा देखिएका कमीकमजोरीलाई सुधार्दै रणनीति बनाउनु पर्छ ।
नेपालको रक्षापंक्ति, मिडफिल्ड र फरवार्डहरुमा राम्रो कम्युनिकेसन हुनुपर्छ । आक्रमणमा जाँदा आफ्नो स्वभाविक संरचनाअनुसार नै जानुपर्छ । रक्षात्मक हुँदा त्यहीं किसिमको संरचना बन्नुपर्छ । कहीं कतै पनि खाली हुनु हुँदैन । हाम्रो खेलाडीबाट विपक्षीले बल खोस्यो भने सँगै गएर लखाट्नुपर्छ । तर, सेमिफाइनलमा बल खोस्यो भने हाम्रो खेलाडीमा नलखाटिकन छोडिदिने समस्या देखिएको थियो । बल ‘रिगेन’ गर्न छोड्नु हुँदैन । नेपाली खेलाडीले शारिरीक र मानसिक रुपमा बलियो भएर खेल्नु पर्छ । त्यसो भए जित निश्चित छ ।
(२००४मा चीनमा भएको एएफसी यु १९ फुटबलबाट भगवतीले राष्ट्रिय टिमको उमेर समूहमा प्रवेश गरेकी थिइन् । २०१०– २०१६ सम्म साफ महिला च्याम्पियनसिपमा सेन्टर डिफेन्डरको भूमिकामा खेलिन् । २०१६ बाट उनले खेलजीवनबाट संन्यास लिँदै एपिएफ क्लबको महिला टिमको प्रशिक्षण सम्हालिरहेकी छिन् ।)