काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का लागि खेलाडीको विषयलाई लिएर असन्तुष्ट रहेका क्लबहरू र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार बैठक बस्दै छ । आफूहरूसँग् सम्झौतामा रहेका खेलाडीहरूलाई समावेश गरेर गत शुक्रबार गरिएको अक्सनसँगै खेलाडीको उपलब्धतालार्य लिएर आठ वटा क्लबलहरूले यसअघि दुई पटक विज्ञप्ति जारी गरिसकेका छन् ।
एनएसएल पनि एन्फाकै प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम)ले आयोजना गर्दै आएको छ । पहिलो संस्करण वैशाखमा सम्पन्न भएको एनएएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि सुरु गर्ने एनइएसएमको तयारी छ । जसका लागि अक्सन भइसकेको छ भने मार्की खेलाडी र मुख्य प्रशिक्षकको समेत प्राय क्लबले टुङ्गो लगाइसकेका छन् ।
यसअघि अक्सनको पूर्व सन्ध्यामा पनि एन्फा मुख्यालयमा असन्तुष्ट क्लबहरू र एन्फाका उपलब्ध कार्यसमिति सदस्यहरूबीचको छलफलले अक्सन रोक्न पत्र काटेको महासचिव इन्द्रमान तुलाधरले बताएका थिए । सोही विषयमा आज एनआरटी क्लबमा छलफल हुन लागेको पनि उनले जानकारी दिए ।
‘क्लबहरूसँग ६ बजे एनआरटीमा बैठक बस्न लागेको हो,’ खेलाडीसँग महासचिव तुलाधरले भने, ‘सुपर लिगकै विषयमा छलफल हुनेछ ।’
एन्फाले असन्तुष्ट क्लबहहरूसँग छलफल गर्ने र आवश्यक परे एनएसएल आयोजकसँग पनि छलफलको माहोल बनाउने बुझिएको छ ।