काठमाडौं । बंगलादेश साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । शुक्रबार पाकिस्तानमाथि ९–१ को फराकिलो जित हासिल गरेसँगै बंगलादेशले उपाधिमा आफ्नो एक पाइला अगाडि सारेको हो ।
बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा कप्तान सवीना खातुन एक्लैले चार गोल गरिन् । योसँगै उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा रहेकी सवीनाको गोल सङ्ख्या १० पुगेको छ । उनी दोस्रो स्थानका दिती कनुन्गो र खुश्बु सरोजभन्दा चार गोलले अगाडि छिन् ।
सवीनाबाहेक नौसोन जहान र कृष्ण रानी सरकारको नाममा समान दुई गोल रह्यो । त्यस्तै निलुफ यस्मिन निलाले पनि स्कोरसीटमा आफ्नो नाम लेखाइन् । पाकिस्तानका लागि अनमोल हिराको गोल सान्त्वना बन्न पुग्यो ।
हारसँगै पाकिस्तान उपाधि होडबाट बाहिरिएको छ । ६ खेलबाट पाकिस्तानले मात्र ७ अंक जोड्न सक्यो । १३ अंकका साथ शीर्ष स्थानमा रहेको बंगलादेशलाई उपाधिका लागि थप एक जित आवश्यक छ ।
शुक्रबार दिनको तेस्रो खेलमा भारत र भुटानले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल बराबरी भएको खण्डमा बंगलादेश एक खेलअगावै च्याम्पियन बन्नेछ । त्यसअघि दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् । उपाधि होडबाट यसअघि नै बाहिरिसकेका दुबै पहिलो जितको लक्ष्यमा छन् ।
