काठमाडौं । एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम(एनआरटी)ले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न आफ्नो तेस्रो खेलमा एनआरटीले काँक्रेबिहार क्लबको चुनौती २–० ले पन्छायो । एनआरटीको जितमा टिमोथी चिमेरी ओकेरेके र रन्दीप पौडेलले गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए ।

सातदोबाटोको खेलमा एनआरटीले तीन अंक हासिल गर्दा च्यासलले भने विजेता पाउन सकेन । दिउँसो ३ बजे नै भएको खेलमा फ्रेन्ड्स क्लब र संकटा एफसीले गोलरहित बराबरीमा चित्त बुझाए । दुबैले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।
लिगमा शुक्रबार तीन खेल हुनेछन् । बिहान ११ बजे सातदोबाटोमा श्री भगवती क्लब र नव जनजागृति क्लब आमने–सामने हुनेछन् । दिउँसो २ बजे हुने दोस्रो खेलमा सातदोबाटो युवा क्लब र मनाङ मर्स्याङ्दी क्लब पहिलो जितको खोजीमा हुनेछ । साँझ ६ः३० बजे नेपाल पुलिस क्लब र लालिगुँरास क्लबको खेल हुनेछ ।
