काठमाडौं । उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५-१ को सानदार जित हासिल गरेको छ ।
बुधबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो पाँचौं खेलमा अनिता केसी, जेनिफर रानामगर र मनिषा थापामगरले सानदार खेल प्रस्तुत गरे । दुई गोलमा असिस्ट प्रदान गरेकी अनिताले नेपालको सुरुआती गोलमा पनि अहम भूमिका खेलिन् । त्यस्तै जेनिफरले एक गोल र दुई असिस्ट तथा मनिषाले दुई गोल गरिन् । जितसँगै नेपाल पाँच खेलमा सात अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो ।
हारसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिएको छ । पाकिस्तानको पनि ७ अंक छ । शीर्ष स्थानको बंगलादेशले चार खेलबाट १० अंक जोडिसकेका कारण पाकिस्तानको सम्भावना सकिएको हो ।

नेपाललाई जित दिलाउन मनिषा र जेनिफरबाहेक दीपा राई र रोशनी बोहरा क्षेत्रीले समान एक गोल गरे । पाकिस्तानका लागि अज्वा चौधरीको गोल सान्त्वना बन्न पुग्यो ।
नेपालले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा अनिताको प्रहार आलिया सादिकसँग डिफ्लेक्ट हुँदै मनिषासम्म आइपुगेको थियो । जसमा उनी गोल गर्न सफल भइन् । ६ मिनेटपछि मनिषाले जेनिफरसँगको ‘कम्बिनेसन प्ले’मा गोल गरिन् ।
अब गोल गर्ने पालो थियो रोशनीको । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रोशनीले अनिताको पासलाई सदुपयोग गरिन् । उनको राइट फुटेड सुन्दर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

दोस्रो हाफको आठौं मिनेटमा अज्वाले गोल फर्काइन् । उनको राइट फुटेड प्रहारमा नेपाली गोलकिपर सावित्री किसन बिट भइन् । ३२औं मिनेटमा जेनिफरको पासमा दीपाले हेर्नलायक ‘ब्याकहिल’ गोल गरिन् । चार मिनेटपछि अनिताको पासमा जेनिफरले खेललाई ५-१ को स्थितिमा पुर्याइन् ।
नेपालले आफ्नो अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ । पाकिस्तानले आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।
