काठमाडौं । श्रीलंकामाथि ६-३ को पुनरागमन जित निकाल्दै बंगलादेश साफ महिला फुटसल च्याम्पियनसिपको अंकतालिकामा पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न श्रीलंकाले लिएको २-० को अग्रतालाई बंगलादेशले उल्टाएको हो । जितसँगै चार खेलमा १० अंक जोड्दै बंगलादेश शीर्ष स्थानमा फर्कियो । यसअघि चार खेलमा ९ अंक जोडेको भारत शीर्ष स्थानमा थियो । हारसँगै श्रीलंकाको उपाधि जित्ने लक्ष्य गणितिय हिसाबमा लगभग अन्त्य भएको छ । तीन खेल बाँकी रहँदा श्रीलंका एक अंक जोड्दै छैटौं स्थानमा छ ।

शानु पसकरण र इमेशा कानकानाम्लेगको गोलमा श्रीलंकाले दुई गोलको अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम दुई मिनेट बाँकी छँदा कप्तान सवीना खातुनले दुई गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याएका थिए । त्यसपछि बंगलादेशका लागि स्रिमोटी कृष्णरानी सरकारले दुई तथा सुमाया मात्सुशिमा र मसुरा प्रवीणले समान एक गोल गरे । श्रीलंंकाका लागि खेल सकिन केही सेकेन्ड बाँकी रहँदा इमेशाले व्यक्तिगत दोस्रो गोल गरिन् ।

बंगलादेशले शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ । सोही दिन श्रीलंकाले पुछारको माल्दिभ्ससँग खेल्नेछ ।
