काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
मंगलबार सुमन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टिमले १७ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
गत पुस १८ गते ६७ सदस्यीय प्रारम्भिक टोली तयार पारिएको थियो । पुस २० र २१ गते दुई दिनको छनोटपछि दोस्रो चरणका लागि ४९ खेलाडी छानिए । दोस्रो चरणको छनोट चार दिन चल्यो । त्यसपछि फाइनल चरणका लागि ३५ सदस्यीय टोली बन्द प्रशिक्षणमा बसेका थिए ।
श्रेष्ठको अन्तिम टोलीमा अटाएका ६ खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन । बाँकी सबैले अन्तर्राष्ट्रिय एक्सपोजर पाइसकेका छन् । टोलीमा गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ एसियन कप छनोट खेलेका १२ जना खेलाडी छन् । त्यस्तै यु-१५ देखि नेपालको जर्सी लगाउँदै आएका सेन्ट्रल मिडफिल्डर सुशिला केसी, अट्याकिङ मिडफिल्डर सेनु परियार, फरवार्ड वर्षा ओली र सेन्टरब्याक माया मास्केले लगातार तेस्रोपटक माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा स्थान बनाएका छन् ।
यी चार खेलाडीले छैटौं पटक उमेर समूहमा देशको प्रतिनिधित्व गर्दै छन् । साफबाहेक यी खेलाडीले एएफसी यु-१७/२० छनोट प्रतियोगिता पनि खेलेका थिए । यु–२० खेलिसकेका चार खेलाडीलाई टिममा राख्न पाउने नियम रहेका कारण सुशिला, सेनु, माया र वर्षाले फेरि एकपटक माथिल्लो उमेर समूहमा देशको प्रतिनिधित्व गर्ने सौभाग्य पाएका हुन् ।
नेपालको पहिलो खेल भारतसँग
आजै साफले चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।
दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।
