काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटसलमा ऐतिहासिक पहिलो जितको खुसी मनाएको ४८ घण्टा बित्न नपाउँदै नेपाली टोलीले साफ च्याम्पियनसिपमा भारतसँग ८–१ को फराकिलो हार बेहोरेको छ ।
शनिबार आफ्नो तेस्रो खेलमा नेपाल भारतसामू निरीह बन्यो । भारतले पहिलो हाफमा ५ गोल गरेको थियो । तीन गोलले पछाडि परेको अवस्थामा मनिषा थापामगरले एक गोल फर्काएकी थिइन् ।
भारतको जितमा दिती कनुन्गो एक्लैले चार गोल गरिन् । त्यस्तै रितिका सिंहले दुई गोल गर्दा निश्का प्रकाश र खुश्बु सरोजले एक–एक गोल गरिन् ।

हारसँगै दोस्रो स्थानको नेपाल दुई स्थान तल झर्यो । यसअघि तेस्रो स्थानमा रहेको भारतले एक स्थान सुधार गर्यो । आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । अघिल्लो खेलमा नेपालले माल्दिभ्समाथि ५–० को रवाफिलो जित हासिल गर्यो ।
भारतले पहिलो खेलमा माल्दिभ्सलाई ११–१ ले हराएको थियो । त्यसपछि बंगलादेशसँग ३–१ को नमिठो हार बेहोर्यो ।
नेपालले आफ्नो चौथो खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । सोही दिन भारतले पाकिस्तानसँग खेल्ने तालिका छ ।
