काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको चुनावी साधारणसभामा दुई समूह प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई वेवास्ता विपरित दुई समूहमा निर्वाचनमा होमिने पक्का भएको हो ।
मनोनयनको अन्तिम दिन (शनिबार) दीर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले आफ्नो समूह नै बनाएर अगाडी बढेका छन् । उनले अदालत र राखेपको निर्देशन विपरित बाध्य भएर अध्यक्षमा उम्मेदवारी दिन परेको बताएका छन् ।
यता, वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसअघि नै अध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिइसकेका छन् । उनले वर्तमान कार्यसमितिका पदाधिकारीलाई नै आफ्नो टिममा समेटेका छन् ।
शनिबार नै वरिष्ठ उपाध्यक्षमा सुन्दर नरसिंह जोशी, उपाध्यक्षमा उत्तमराज भण्डारी, अनिल श्रेष्ठ र पेमा डोल्मा लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यसअघि अदालत र राखेपले अर्ली इलेक्सन आवश्यकता नरहेको बताउँदै तत्काल चुनावी प्रक्रिया अगाडी नबढाउन आदेश दिएका थिए । अदालतले दुबैसमूहलाई माघ ६ गते छलफलमा बोलाएको छ । यता, राखेपले एन्फालाई ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको थियो ।
तर, एन्फा नेतृत्व एएफसी र फिफाको स्विकृतीको कारण देखाउँदै चुनावी प्रक्रियामा बढेको हो ।
यता, यसअघि नै अध्यक्षकाे उम्मेदवार घोषणा गरेका विराटजंग शाहीले भने उम्मेदवारी दर्ता गरेनन् । उनले राखेप र अदालतको अवहेलना हुने भन्दै निर्वाचनमा सहभागी नभएको बताएका छन् ।
