काठमाडौं । कुनै समय नेपाली फुटबलमा एकछत्र राज गरेको मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा लज्जास्पद सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० ले पराजित भयो ।
आर्मीले पहिलो खेलमै सहज तीन अंक जोडेको छ । बालगोपाल महर्जनको प्रशिक्षणमा मैदान उत्रिएको आर्मीको जितमा युवा खेलाडी निराजन धामीले दुई गोल गरे । नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले समान एक गोल गरेका थिए ।
आर्मीले पहिलो हाफमै दुई गोल गोल गर्दै मनाङविरुद्ध दबाब बनाएको थियो ।
सहिद स्मारक ए डिभिजन लिग कीर्तिमानी आठ पटक जितेको मनाङ पछिल्लो दुई वर्ष नेपाली फुटबलमा गुमनाम जस्तै रह्यो ।
कुनै समय राष्ट्रिय टिमका खेलाडीले भरिने मनाङ करिब दुई वर्षपछि घरेलु फुटबलमा फर्किँदा अहिले राष्ट्रिय टिमका खेलाडी नै छैनन् । मनाङले आर्मीविरुद्ध तीन विदेशी खेलाडी मैदान उतारेपछि स्वभाविक लय पाउनै सकेन ।
राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३ तथा प्र्रेसिडेन्ट लिगबाट छनोट भएका ४ गरी कूल १७ टिम सहभागी भएका छन् ।
आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चितलाङ एफसीले राष्ट्रिय जनजागृति युवा क्लबलाई २–१ ले हराउँदै विजयी सुरुआत गरेको छ ।
चित्लाङको जितमा दुबै गोल विदेशी खेलाडीले गरेका हुन् । पहिलो गोल खेलको २८औं मिनेटमा म्याथ्यु बाबातुन्डे ओलानवाजुले गरे । तर, आठ मिनेटपछि नै नव जनजागृतिको लागि उदित नारायण चौधरीले बराबरी गोल फर्काएका हुन् ।
दोस्रो हाफमा चित्लाङले दोस्रो गोल गर्याे । सोलोमन एडेयिन्का इलेसान्मीले ६२औं मिनेटमा विजयी गोल गरेका थिए । चित्लाङ प्रेसिडेन्ट लिगको उपविजेताको रुपमा राष्ट्रिय लिगको लागि छनोट भएको हो ।
