काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा शुक्रबार पाकिस्तान र माल्दिभ्सले जित हासिल गरेका छन् ।
बैंककस्थित हुवामाक रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा पाकिस्तानले भुटानको चुनौती ४-२ ले पन्छायो । त्यस्तै दिनको तेस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ६-१ ले हरायो ।
पहिलो हाफमा भुटानले दावा छिरिङको दुई गोलमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा पाकिस्तानले चार गोल फर्कायो । पाकिस्तानका लागि अदान अशफाकले दुई तथा हस्सान जफर र असिफ अहमदले एक–एक गोल गरे । जितसँगै पाकिस्तान दुई खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । यसअघि पाकिस्तानले माल्दिभ्ससँग ७-१ को फराकिलो हार बेहोरेको थियो ।

माल्दिभ्सले आफ्नो ‘गोल स्कोरिङ’ लयलाई दोस्रो खेलमा पनि कायम राख्यो । माल्दिभ्सको जितमा अहमद राहिल रसीदले दुई तथा मोहम्मद इम्रान, इशान इब्राहिम, अली शियाह र अब्दुल्ला शफियुले समान एक गोल गरे । पहिलो हाफमा ३-१ को अग्रता लिएको माल्दिभ्सले त्यसपछि थप तीन गोल गरेको हो । बंगलादेशका लागि काजी इब्रँहिम अहमदले गोल गरेका थिए ।
दिनको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध २-१ को जित हासिल गर्यो ।
