काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
शुक्रबार मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ६७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । छानिएका खेलाडीलाई आइतबार १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पहिलो चरणको छनोटका लागि बोलाइएको छ ।
एन्फाले श्रेष्ठलाई मंगलबार मात्र मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको थियो । तीन दिनपछि श्रेष्ठले राष्ट्रिय यु-१७ र यु-२० का खेलाडीसँगै गत सेप्टेम्बरमा सम्पन्न एन्फा राष्ट्रिय लिग छनोट खेलेका सम्भावना भएका खेलाडी समेट्दै टोली तयार पारेका हुन् ।
टोलीमा गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ एसियन कप छनोट खेलेका २० जना खेलाडी समावेश छन् । त्यस्तै यु-१५ देखि नेपालको जर्सी लगाउँदै आएका अट्याकिङ मिडफिल्डर सेनु परियार, फरवार्ड वर्षा ओली र सेन्टरब्याक माया मास्केले लगातार तेस्रो पटक माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
सेनु, वर्षा र मायाले सन् २०२४ र २०२५ मा ढाकामा भएको साफ यु-१९/२० च्याम्पियनसिपको चौथो र पाँचौं संस्करण खेलेका थिए ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।

