काठमाडौं । इङ्लिस क्लब चेल्सीले लिग कप (इएफएल) मा कार्डिफ सिटीलाई ३–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन अर्जेन्टिनी स्टार एलेजान्द्रो गर्नाचोले दुई गोल गरे । पेड्रो नेटोको नाममा एक गोल रह्यो ।
खेलमा अग्रता भ्रमणकारी टोली चेल्सीले नै बनायो । तर, टोलीले गोलको लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो । गर्नाचोले ५७औं मिनेटमा अग्रता दिलाए । तर, ७५औं मिनेटमा घरेलु टोली कार्डिफका डेविड टुमदुलले बराबरी गोल फर्काएका हुन् ।
दबाबमा आएको चेल्सीले नेटोको गोलमार्फत ८२औं मिनेटमा पुनः २–१ को अग्रता बनाएको हो । तीन मिनेटको इन्जुरी समयमा गर्नाचोले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेका थिए ।
अब, चेल्सीले सेमिफाइनल म्यानचेष्टर सिटी या ब्रेन्टफोर्डसँग खेल्नुपर्नेछ । सिटीले आज राति नै ब्रेन्टफोर्डसँग खेल्ने तालिका रहेको छ ।
