काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले देशमा लिग नहुँदा बंगलादेशमा खेल्न जानुपरेको बताएका छन् ।
बंगलादेश प्रिमियर लिगको क्लब ब्रदर्थ युनियनमा आबद्ध भएका फरवार्ड अञ्जन ढाका पुगिसकेका छन् । ‘ यो देशको राष्ट्रिय फुटबल खेलाडी भएको नाताले, देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश छिमेकी देश बंगलादेश लिग खेल्न आउनुपरेको छ । दुई छाक टार्न र बाबा-आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु । सम्पूर्ण खेलाडी अहिले बेरोजगार छन्,’ अञ्जनले फेसबुकमा लेखेका छन्, ‘ एन्फालाई मेरो बिन्ती छ, अब चाहिँ फुटबल लिग फर्काउने वातावरण चाँडो भन्दा चाँडो निर्माण गरियोस् ।’
अञ्जनसँगै मिडफिल्डर एरिक विष्ट, रक्षकद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ पनि ब्रदर्स युनियनमा आबद्ध भएका छन् ।
अञ्जनले अहिले नेपाल आमा रोइरहेको अवस्थामा आफूले केही गर्न नसकेको र विदेश खेल्न जानुपरेको बाध्यता स्वीकारेका छन् । ‘के भन्नु दुर्भाग्य, मेरो नेपाल आमा रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ । अन्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा देशको लागि बलिदान दिएर सहिद भएका छन्,’ उनले लेखेका छन्, ‘मलाई पनि कहाँ इच्छा थियो र नेपाल आमा रोइरहेको देख्ने ? कस्को श्राप लाग्यो मेरो नेपाल आमालाई ? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ ।’
हरि खड्का र निराजन रायमाझीसँगै नेपालका लागि सर्वाधिक १३ गोल गरेका अञ्जनले नेपाल फर्केर देशका लागि केही गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका क्रममा शहिद भएका सम्पूर्णलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।